गीत गाउन नआए कार्यकर्तालाई पार्टीबाट निकालिदिने हर्क साम्पाङको चेतावनी (यस्तो छ गीत)

बोलेकैकारण सबैभन्दा बढी चर्चामा आइरहने पात्र हुन् श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ।

उनी अहिले झापाको दमकमा पुगेका छन् । त्यहाँ उनले श्रम संस्कृतिका नेता-कार्यकर्तालाई सम्बोधनका क्रममा पार्टीको गीत सबैले कण्ठ पार्नै पर्ने नयाँ नियम सुनाए ।

‘दमकले सुनुञ्जेल पार्टी सदस्यहरूले यो गीत गाउनु र गुञ्जाउनुपर्छ । गीत गाउन आएन भने म केन्द्रीय सदस्यहरूलाई पनि निकालिदिन्छु’, उनले भने, ‘म केन्द्रीय सदस्यहरूको परीक्षा लिन्छु म । यदि गीत गाउन आएन भने पार्टीबाट आउट !’

हर्कले दमकमा आयोजित कार्यक्रममा श्रमसंस्कृति पार्टीले आफ्नो प्रमुख गान बनाएको ‘देश आफैं बन्दैन गाली गर्दै अरूलाई’ भन्ने गीत गाएर अरूलाई पनि गुञ्जाउन लगाए ।

‘देश आफैं बन्दैन गाली गर्दै अरूलाई, देश आफैं बन्छ भने म पनि हात बाँधेर बस्छु । तर देश आफैं बन्दैन’, उनले भने, ‘श्रमसंस्कृतिमा आवद्ध सबैजना श्रमदाताले पार्टीको यो गीत कण्ठ पारेको हुनुपर्छ। यदि यो गीत आएन भने आउट, हर्क साम्पाङले भनेपछि सकियो।’

उनले अब देशमा पार्टीको यही गीतले हो परिवर्तन ल्याउने पनि दाबी गरे । ‘गीतैले गर्छ, यसले नै देशमा परिवर्तन ल्याउँछ। श्रम गर्न जाँगर आउनुपर्‍यो नि । गीत भनेको पेट्रोल जस्तो हो क्या’, उनले भने, ‘श्रम गर्ने जाँगर बढाउन पनि यो गीत सबैले गाउनै पर्छ।’

यस्तो छ गीत

देश आफैं बन्दैन गाली गर्दै अरूलाई
हातेमालो गरौँ आजै सच्चाएर आफैंलाई

श्रम गरौँ कर्म गरौँ कसको हेर्नु आश
अरू कोहीले बचाउँदैनन् हाम्रो देशको श्वास

यो देशको ढुंगा माटो, यो देशको कर्म
देशमाथि उठाउन आऊ गरौँ श्रम

रगत होइन, भिजाऊ यो देश
श्रम रोपी लहलह फलाऊँ यो देश

Exit mobile version