कास्कीको अन्नपूर्ण गापामा सिमाना हेरफेरको सुझाव

अन्नपूर्ण गाउँपालिकामा पालिका र वडाको संरचना तथा सीमाना हेरफेरका विषयमा सर्वदलीय छलफल भएको छ ।

गाउँपालिकाको आयोजनामा भएको बैठकमा संरचनाको वर्गीकरण, पुनरावलोकन र सीमाना निर्धारणका विषयमा विस्तृत विमर्श गरियो । बैठकमा गाउँपालिकामा रहेका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

सहभागीहरूले स्थानीय आवश्यकता, भौगोलिक अवस्था र जनसंख्याको वितरणलाई आधार मानेर संरचनागत हेरफेर हुनुपर्नेमा जोड दिए । सेवा प्रवाहलाई सहज बनाउने गरी वडाको सीमाना निर्धारण र वर्गीकरण गर्नुपर्ने उनीहरूको धारणा थियो ।

राजनीतिक दलका प्रतिनिधिहरूले यस्ता विषयमा सर्वसम्मत र सहमतिपूर्ण निर्णयमा पुग्नुपर्ने आवश्यकता औंल्याएका छन् । आगामी दिनमा थप छलफल र समन्वयात्मक प्रक्रियालाई अगाडि बढाउने प्रतिबद्धता समेत उनीहरूले व्यक्त गरे ।

गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले यो प्रक्रियालाई पारदर्शी र सहभागितामूलक बनाइने बताए । उनले आगामी दिनमा थप छलफल तथा सरोकारवाला निकायसँग समन्वय गरेर अगाडि बढ्ने जानकारी दिए ।

बैठकमा सहभागीहरूले हालको अवस्थाको गहिरो पुनरावलोकन गरी व्यावहारिक ढंगले सीमाना हेरफेर गर्नुपर्ने सुझाव दिएका छन् । गाउँपालिकाले स्थानीय तहको संरचनागत पुनर्संरचनालाई प्रभावकारी बनाउन यो पहल सुरु गरेको हो ।

Exit mobile version