पोखरामा दोस्रो कोदो महोत्सवः ९ रोपनीमाथि खेती गर्ने कृषकलाई सम्मान

पोखरा महानगरपालिका वडा नम्बर २२ कोदीमा आयोजित दोस्रो कोदो महोत्सव सम्पन्न भएको छ । महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे ।

कोदो नेपालको मौलिक तथा रैथाने बाली भएकाले यसको संरक्षण, प्रवर्धन र खेती विस्तार आजको आवश्यकता रहेको उनले बताए । उनले रैथाने बालीका रूपमा कोदो खेतीको प्रवर्धन, खेती विस्तार तथा कृषकलाई प्रोत्साहन गर्न पोखरा महानगरपालिका प्रतिबद्ध रहेको उल्लेख गरे ।

कोदो उत्पादन वृद्धि, बजारीकरण र मूल्य अभिवृद्धिमार्फत कृषकको आय बढाउन महानगरपालिकाले आवश्यक नीति तथा कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताए ।

स्थानीय उत्पादनको उपयोग र उपभोग बढाउँदै खाद्य सुरक्षा तथा आत्मनिर्भर कृषितर्फ अघि बढ्नुपर्नेमा उनले जोड दिए । नगर प्रमुख आचार्यले कोदो कृषकहरूलाई समर्थन मूल्य समेत प्रदान गरेका छन् ।

सो अवसरमा कोदो उत्पादक कृषकहरूलाई सम्मान समेत गरियो ।

१७ रोपनी क्षेत्रफलमा कोदो खेती गरेकी पोखरा २२ की कृषक खगी घर्ती, ११ रोपनी क्षेत्रफलमा कोदो खेती गर्ने पोखरा २० का कृषक दुर्गा बहादुर सुनार, १० रोपनी क्षेत्रफलमा कोदो खेती गर्ने पोखरा २८ की कृषक शोभा भण्डारी र ९ रोपनी क्षेत्रफलमा कोदो खेती गर्ने पोखरा २३ का कृषक होम बहादुर गुरुङलाई नगद र सम्मान पत्रले सम्मान गरियो ।

कृषकहरूलाई पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले सम्मान गरे ।

महोत्सवमा कोदो रोप्ने प्रतियोगिता समेत सम्पन्न भएको छ । महानगरको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाका अनुसार नगर क्षेत्रको करिब ३ हजार ८ सय हेक्टर क्षेत्रफलमा कोदो खेती लगाउने गरिएको छ भने, ४ हजार ८ सय मेट्रिक टन कोदो उत्पादन हुने अनुमान गरिएको छ ।

‘बजारमा माग बढिरहेका बेला उत्पादन भने दिनानुदिन घट्दै गइरहेको अवस्थामा कोदो खेतीप्रति कृषकहरूको आकर्षण वृद्धि गर्न कोदोको न्यूनतम समर्थन मूल्य समेत प्रदान गर्न थालिएको हो’ कडरियाले बताए ।

महोत्सवमा कोदोबाट बनेका विभिन्न परिकार, स्थानीय उत्पादन तथा कृषि उद्यमसँग सम्बन्धित प्रदर्शनी राखिएको थियो । कार्यक्रममा कृषक, कृषि उद्यमी, सहकारीका प्रतिनिधि, सरोकारवाला निकाय तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।

Exit mobile version