मन्त्री नेपालीको सय दिने विकासे दाबीः १६ किमी सडक र १३ पुल

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्दबहादुर नेपालीले आफ्नो सय दिने कार्यकालमा १६.०५ किलोमिटर सडक कालोपत्रे र १३ वटा पुल निर्माण कार्य पूरा गरेका छन् ।

मन्त्रालयको जिम्मेवारी सम्हालेको सय दिन पुगेको अवसरमा आइतबार प्रगति विवरण सार्वजनिक गर्दै उनले भौतिक पूर्वाधार र यातायात क्षेत्रमा उल्लेख्य सुधार भएको बताए । मन्त्री नेपालीले २०८३ वैशाख २ गते कार्यभार सम्हालेका थिए । उनले प्रतिकूल अवस्थाका बीच मन्त्रालयले सन्तोषजनक प्रगति हासिल गरेको दाबी गरे ।

सय दिनको अवधिमा बहुवर्षीय योजना अन्तर्गत १२ वटा सडक योजनामा १६.०५ किलोमिटर कालोपत्रे भएको छ । यसैगरी ४.०९ किलोमिटर ढलान र १८.१० किलोमिटर ग्राभेल सडक निर्माण भएको मन्त्री नेपालीले जानकारी दिए । सोही अवधिमा १० वटा मोटरवेल पुल र ३ वटा झोलुंगे पुलको निर्माण सकिएको छ ।

सालबसाली कार्यक्रम अन्तर्गत ३२९ वटा सडक र २४ वटा भवन सम्बन्धी योजना कार्यान्वयनलाई प्रभावकारी बनाइएको उनले बताए । गोरखा र तनहुँमा निर्माण भएका ४ वटा मोटरवेल पुल उद्घाटन गरी यातायात सञ्चालन सुरु गरिएको छ ।

यातायात क्षेत्रको सेवालाई विकेन्द्रित र प्रभावकारी बनाउन कास्कीको पोखरा महानगरपालिका ३० पावर हाउसमा यातायात व्यवस्था कार्यालय लेखनाथ स्थापना गरिएको छ । सो कार्यालयको १ जेठ २०८३ मा उद्घाटन गरिएको थियो ।

लामो समयदेखि रोकिएको अभियान सामुदायिक अस्पतालको २ करोड ६४ लाख ९४ हजार २१९ रुपैयाँ बक्यौता रकम मन्त्रालयको अगुवाइमा असुल गरिएको छ । गण्डकी प्रदेशमा पहिलो पटक राइड सेयरिङ र सेल्फ ड्राइभ सेवाको भाडादर तोकिएको मन्त्री नेपालीले बताए । यातायात व्यवस्था कार्यालय नवलपुरमा चालक अनुमति पत्रको लिखित परीक्षा विद्युतीय माध्यमबाट लिन सुरु गरिएको छ ।

मन्त्रालयले ७१ हजार थान स्मार्ट लाइसेन्स कार्ड वितरण गरेको छ । लाइसेन्स वितरणलाई छिटो र सहज बनाउन स्नातक तहका विद्यार्थीलाई इन्टर्नसिपमा परिचालन गरिएको थियो ।

‘यातायात सेवालाई प्रविधिमैत्री बनाउन साउन पहिलो सातादेखि डिजिटल प्रणाली लागू गर्ने तयारी सकिएको छ,’ उनले भने । मन्त्रालयले जिओम्स प्रणाली पूर्ण रुपमा कार्यान्वयन गरी कार्यसम्पादन र निर्णय प्रक्रियालाई व्यवस्थित बनाएको उनले बताए । जेठ ११ गतेदेखि सुरु भएको वितरण कार्य साउन ५ गतेसम्म चलेको थियो ।

आर्थिक वर्ष २०८२/८३ मा मन्त्रालयले ६४/७८ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । कुल १२ अर्ब १७ करोड १४ लाख २४ हजार २६९ रुपैयाँ बजेटमध्ये ७ अर्ब ८८ करोड ४८ लाख ७० हजार रुपैयाँ खर्च भएको तथ्यांक उनले सार्वजनिक गरे ।

मन्त्रालय अन्तर्गतका १९ वटा निकायबाट १ अर्ब ८० करोड ९८ लाख ६ हजार ७३२ रुपैयाँ राजस्व संकलन भएको छ । उनले बजेट निर्माणमा सहभागितामूलक पद्धति अपनाउन प्रदेशसभा सदस्य र पूर्व मन्त्रीहरुसँग परामर्श बैठक गरेको जानकारी दिए ।

मन्त्री नेपालीले ११ वटै जिल्लाका पूर्वाधार विकास कार्यालयका प्रमुखसँग छलफल गरी योजना कार्यान्वयनमा सहजीकरण गरेका छन् । उनले दुम्कीवास त्रिवेणी सडक र पोखरा–भिमाद–नवलपुर जोड्ने वैकल्पिक मार्गको स्थलगत निरीक्षण गरेका छन् । मन्त्रालयले बेलिब्रिज पुललाई प्राथमिकता दिँदै बजेट व्यवस्थापन गरेको छ ।

रुग्ण आयोजनालाई व्यवस्थापन गर्न काम नगर्ने ठेकेदारलाई कालो सूचीमा राख्न सिफारिस गरिएको उनले बताए । वातावरण र अपांगमैत्री यातायात प्रणालीको प्रवर्द्धन गर्ने नीति मन्त्रालयले लिएको छ ।

Exit mobile version