पोखरा महानगरलाई साढे २ करोडको कृषि तथा पशुपन्छी सेवा केन्द्र हस्तान्तरण

 ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना अन्तर्गत नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा पोखरामा निर्मित पालिका स्तरीय कृषि तथा पशुपन्छी सेवा केन्द्र पोखरा महानगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

आयोजनाको बुटवल कार्यालयका प्रमुख डा. उत्तम आचार्यले उक्त केन्द्रको भवन, उपकरण तथा अन्य पूर्वाधार मंगलबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई हस्तान्तरण गरे ।

कृषक तथा कृषि पेसामा आबद्ध उद्यमी व्यवसायीलाई प्रयोगशाला सम्बन्धी सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले केन्द्र निर्माण गरी पोखरा महानगरपालिकालाई हस्तान्तरण गरिएको आयोजनाका निर्देशक डा. आचार्यले बताए ।

उनका अनुसार केन्द्रमार्फत उत्पादक तथा खरिदकर्ता बीचको बजार सम्बन्धको प्रवर्द्धन तथा उद्यमशीलता विकासका लागि सहयोगी वातावरण निर्माण मार्फत ग्रामीण उद्यम विकासमा मद्दत पुग्नेछ ।

नगर प्रमुख धनराज आचार्यले कृषकलाई गुणस्तरीय र वैज्ञानिक कृषि उत्पादनतर्फ उन्मुख गराउन केन्द्रमार्फत महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले माटो, पानी, बिउ, मल, रोग तथा कीराको परीक्षणबाट खेतीका लागि आवश्यक पोषक तत्त्व, उपयुक्त बाली, मलको मात्रा तथा रोग नियन्त्रणका वैज्ञानिक उपायबारे यथार्थ जानकारी प्राप्त गर्न सहज हुने बताए ।

प्रयोगशाला सेवा समयमै प्राप्त गर्ने अवस्थाले कृषिमा उत्पादन लागत घट्ने, उत्पादन तथा उत्पादकत्व बढ्ने, रोगको जोखिम कम हुने र कृषकको आम्दानी वृद्धि हुने उनले विश्वास व्यक्त गरे ।

महानगरपालिकाको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाका अनुसार कृषिको व्यावसायिक विकासका दृष्टिले यस्ता प्रयोगशालाले सुरक्षित, गुणस्तरीय र बजारमुखी उत्पादन प्रवर्द्धन गर्न महत्त्वपूर्ण टेवा पुर्‍याउनेछ । साथै वैज्ञानिक परीक्षणका आधारमा उत्पादन गरिएका कृषि तथा पशुजन्य वस्तुको गुणस्तर सुनिश्चित हुँदा उपभोक्ताको विश्वास बढ्नुका साथै आन्तरिक तथा बाह्य बजारमा प्रतिस्पर्धा गर्न सहज हुने उनले बताए ।

प्रयोगशालाबाट प्राप्त तथ्यांक र अनुसन्धानका आधारमा प्रभावकारी कृषि नीति, कार्यक्रम र अनुदान योजनाहरू सञ्चालन गर्न सकिनेछ । प्रयोगशालाको उपयोगबाट महानगरमा आधुनिक प्रविधिमा आधारित उत्पादन प्रणालीलाई प्रवर्द्धन गर्दै दिगो, व्यावसायिक र प्रतिस्पर्धी कृषि विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।

२ करोड ५३ लाख ५७ हजार १४६ रुपैयाँको लागतमा निर्माण गरिएको केन्द्रमा २ वटा प्रयोगशाला रहेका छन् ।

Exit mobile version