पोखराको मुख्य बजार महेन्द्रपुल क्षेत्रको पार्किङ र ट्राफिक व्यवस्थापन सुधार्न ‘सुझाव संकलन एवं कार्यान्वयन समिति’ गठन हुने भएको छ ।
पोखरा उद्योग वाणिज्य संघ र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबीच भएको छलफलले बजारको पार्किङ र आवागमनलाई व्यवस्थित बनाउन समन्वय गरिने भएको छ ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सुजितकुमार देवकोटाले नागरिकको सुरक्षा र सहज पार्किङ आफ्नो मुख्य चासो भएको बताए । उनले सहकार्यको प्रस्ताव गरेपछि समिति बनाउने सहमति जुटेको हो ।
देवकोटाले मादक पदार्थ सेवन गरेर सवारी नचलाउन पनि आग्रह गरे । उनले भने, ‘हामीले गर्ने चेकिङ नागरिककै सुरक्षाका लागि हो । मापसे गरेर सवारी चलाउँदा ज्यान जोखिममा पर्छ ।’
कास्कीभरका लागि जम्मा ९२ जना ट्राफिक प्रहरी मात्र रहेको उनले जानकारी दिए । जनशक्ति अभावले सबै क्षेत्रमा ध्यान दिन नसकिएको उनको स्वीकारोक्ति थियो । सहरमा सिसी क्यामरा नहुँदा दुर्घटना गराएर भाग्नेलाई समात्न गाह्रो भएको उनले बताए । व्यवसायीले दिनभर पसल अगाडि आफ्नै गाडी र कर्मचारीका मोटरसाइकल राख्दा पनि समस्या थपिएको उनको भनाइ थियो ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले फुटपाथ पैदलयात्रीकै हुनुपर्नेमा जोड दिए । सडकमा गरिने पार्किङले सवारी आवागमन र ट्राफिक व्यवस्थापन बिगार्न नहुने उनले बताए ।
यसअघि संघकै अगुवाइमा फुटपाथका अनधिकृत व्यवसाय हटाइएको उनले स्मरण गरे । कार्कीले भने, ‘व्यवसायीलाई मर्का नपरोस् भन्ने हाम्रो चाहना हो । मान्छे आएपछि पार्किङ चाहिन्छ, तर त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने मुख्य प्रश्न हो ।’
पोखरा ९ का वडाध्यक्षले अस्तव्यस्त पार्किङ मिलाउन खोज्दा व्यवसायीबाटै असहयोग भएको गुनासो गरे । उनले पार्किङका विषयमा सर्वसाधारणबीच झगडा हुने गरेको समेत बताए ।
उनले भने, ‘ट्राफिक व्यवस्थापनका लागि कि महानगर र प्रहरीलाई सघाउनुपर्छ, होइन भने स्थानीयले नै व्यवस्थापन गर्नुपर्छ ।’ उनले सार्वजनिक शौचालय र झण्डा पार्क आउने पर्यटकका सवारी पार्किङमा पनि सहयोग गर्न व्यवसायीलाई आग्रह गरे ।
छलफलमा व्यवसायीले भाडाका ट्याक्सीले सडक कब्जा गरेको र फुटपाथको चौडाइ स्पष्ट नभएको गुनासो पोखे ।
स्थानीय सुमन श्रेष्ठले महेन्द्रपुलमा दैनिक दुर्घटना हुने गरेको र हाइमास्ट लाइट नबल्दा दोषी चिन्न गाह्रो भएको सुनाए । अर्का व्यवसायी रोशन महर्जनले व्यापार पनि चल्ने र अरुलाई बाधा पनि नहुने गरी पार्किङ मिलाउनुपर्ने धारणा राखे ।
