राष्ट्रिय प्रसारण लाइनमा पोखराको सेतीखोलाबाट २२ मेगावाटको योगदान

पोखरा महानगरपालिकाभित्र निर्माण भएको सबैभन्दा ठूलो जलविद्युत आयोजनाले राष्ट्रिय प्रसारण लाइनमा विद्युत आपूर्ति सुरु गरेको छ ।

पोखरा–३३ मुसेटुँडास्थित सेतीखोला हाइड्रोपावर लिमिटेडको २२ मेगावाट क्षमताको आयोजनाबाट सोमबारदेखि विद्युत उत्पादन थालिएको हो ।

नेपाल विद्युत प्राधिकरणका प्राविधिकले अनुगमन गरी मिटरमा सिलबन्दी गरेपछि आयोजना सञ्चालनमा आएको कम्पनीले जनाएको छ । आयोजनाको औपचारिक उद्घाटन भने आगामी शुक्रबार गर्ने तयारी गरिएको छ ।

उत्पादन सुरु भएसँगै पहिलो १५ दिन नेपाल विद्युत प्राधिकरणलाई परीक्षणका रूपमा विद्युत उपलब्ध गराइने छ । त्यसपछि आयोजनाले व्यावसायिक रूपमा विद्युत बिक्री सुरु गर्ने लिमिटेडका निर्देशक दिपक बरालले बताए ।

‘सोमबार विद्युत प्राधिकरणका प्राविधिकले अनुगमन गरे । मिटरमा सिलबन्दी गरेपछि उत्पादन सुरु भयो,’ बरालले भने, ‘अब १५ दिन विद्युत प्राधिकरणलाई बिजुली उपलब्ध गराइने छ । त्यसपछि व्यावसायिक रूपमा जाने छौं ।’

यो आयोजना पोखरा महानगरपालिकाभित्र सञ्चालनमा आएको सबैभन्दा ठूलो जलविद्युत आयोजना हो । पोखरा–३३ तिकलाङमा बाँध निर्माण गरिएको छ । त्यहाँबाट पानी सुरुङमार्ग हुँदै पुँडीटारस्थित पावरहाउसमा पुर्‍याइएको छ । पेनस्टक पाइपमार्फत पानी खसालेर विद्युत उत्पादन भइरहेको छ ।

आयोजनाका लागि ३ हजार १ सय ६ मिटर लामो सुरुङ निर्माण गरिएको छ । पावरहाउसमा ११–११ मेगावाट क्षमताका दुइटा टर्बाइन जडान गरिएको कम्पनीले जनाएको छ । लिमिटेडले उत्पादित विद्युत २ किलोमिटर लामो प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडेको छ ।

Exit mobile version