सार्वजनिक स्थानबाट बेवारिसे चार थान अवैध भरुवा बन्दुक बरामद

कुश्मा, पर्वत: पर्वतको मोदी गाउँपालिकामा प्रहरीले चार थान बेवारिसे अवैध भरुवा बन्दुक बरामद गरेको छ।

जिल्लाभित्र हुन सक्ने वन्यजन्तु तथा पशुपन्छी शिकारलाई नियन्त्रण गर्न र समग्र शान्ति सुरक्षा अमनचयन कायम राख्न सञ्चालन गरिएको ‘स्पेशल स्वीप अपरेसन’ का क्रममा ती हतियार फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार असार २२ गते सोमबार मोदी गाउँपालिका वडा नम्बर ८ चित्रे धान्वारास्थित सार्वजनिक स्थानबाट चार थान भरुवा बन्दुक फेला पारिएको हो।

ती हतियारहरू बेवारिसे अवस्थामा लुकाई छिपाई राखिएको अवस्थामा फेला पारी रीतपूर्वक बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद गरिएका हतियार सुरक्षित साथ जिल्ला प्रहरी कार्यालयमा ल्याएर राखिएको छ।

प्रवक्ता तथा सूचना अधिकारी दिनेश पौडेलले हालसम्म जिल्लाका विभिन्न स्थानबाट जम्मा २३ थान बेवारिसे अवैध एकनाले भरुवा बन्दुक बरामद गरिएको जानकारी दिए। प्रहरीले अवैध हतियार नियन्त्रण गर्ने अभियानलाई तीव्रता दिएको उनले बताए।

Exit mobile version