पोखरा । मादी गाउँपालिका ७ मा सोमबार राति भरुवा बन्दु पड्किएर एक जना घाइते भएका छन् । घाइते हुनेमा मादी गाँउपालिका ७ मेलबोट लिचुका बिनोद सुनार रहेका छन् । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माका अनुसार जंगल नजिकै रहेको गाईगोठमा भरुवा बन्दुक चेकजाँच गर्ने क्रममा एक्कासि पड्किँदा सुनार घाइते भएका हुन् ।
वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले सो स्थानमा गई खोजतलास गर्दा लिचु जंगल नजिक कुल प्रसाद वि.क.को गाईगोठमा रातो कपडाले बेरेर लुकाई छिपाई राखेको अवस्थामा १ नाले भरुवा बन्दुक फेलापारी बरामद गरिएको प्रहरीले जनाएको छ । सुनारको उपचारका क्रममा सोधपुछ गर्दा सो कुराको खुलासा भएको थियो ।
उक्त बन्दुकको इजाजत पत्र नभएकोले सोही ठाउँका ३२ वर्षीय साइला भन्ने कुलप्रसाद विक र पानीघाटका २२ वर्षीय सुमन तामाङलाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई हातहतियार तथा खरखजनासम्बन्धी मुद्धा अघि बढाइएको डीएसपी शर्माले जानकारी दिए ।