पोखरा महानगरको २ अर्ब रुपैयाँको हिसाबकिताब लेखा परीक्षण नै भएन

महालेखा परीक्षकको प्रतिवेदनले सार्वजनिक गरेको तथ्यांक अनुसार पोखरा महानगरपालिकाको २ अर्ब रुपैयाँ बढी रकमको लेखापरीक्षण हुन सकेको छैन ।

आर्थिक वर्ष २०८१/०८२ को प्रतिवेदन अनुसार ०८२ भदौ २४ गते महानगरपालिकामा भएको आगजनी र तोडफोडका कारण २ अर्ब ३ करोड ३९ लाख ६४ हजार रुपैयाँ बराबरको कारोबारको लेखापरीक्षण नै हुन नसकेको हो ।

कागजात र स्रेस्ता नष्ट भएकाले विनियोजनतर्फ १ अर्ब ९० करोड, धरौटीतर्फ १० करोड ९२ लाख र अन्य कारोबारतर्फ २ करोड २७ लाख रुपैयाँको परीक्षण हुन नसकेको प्रतिवेदनमा उल्लेख छ ।

यस वर्ष १५ अर्ब २१ करोड २३ लाख ७६ हजार रुपैयाँको कारोबार भएकोमा १३ अर्ब १७ करोड ८४ लाख १२ हजार रुपैयाँको मात्र लेखापरीक्षण गरिएको छ ।

लेखापरीक्षण गरिएको रकममध्ये २१ करोड ३६ लाख ८१ हजार रुपैयाँ बेरुजु देखिएकोमा ३२ लाख ७ हजार रुपैयाँ तत्कालै फस्र्याैट भएको प्रतिवेदनमा उल्लेख छ ।

Exit mobile version