पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कुष्ठरोग निदानका लागि ‘स्लिट स्किन स्मियर माइक्रोस्कोपी’ परीक्षण सेवा सुरु भएको छ ।
माइक्रोबायोलोजी प्रयोगशाला र डर्माटोलोजी विभागको सहकार्यमा यो सेवा सञ्चालनमा ल्याइएको हो ।
अस्पतालमा परीक्षण सुरु गरेपछिको दोस्रो नमुनामै आज एकजना बिरामीमा कुष्ठरोग पुष्टि भएको छ ।
यस परीक्षणको सुरुवात गर्न प्रयोगशाला इन्चार्ज तथा माइक्रोबायोलोजिस्ट ध्रुव गिरी, माइक्रोबायोलोजिस्ट शिवहरि घिमिरे, डा सोहनी बज्राचार्य र मेडिकल ल्याब टेक्नोलोजिस्ट अस्मिता क्षेत्रीले पहल गरेका थिए ।
त्यस्तै, सेवा सञ्चालनमा प्रयोगशाला विभागका विभागीय प्रमुख डा लक्ष्मण बास्तोला, डर्माटोलोजी विभागका विभागीय प्रमुख डा आनन्द नेपाल र डा विधि रेग्मी लगायतको सहभागिता रहेको छ ।
नयाँ प्रविधिबाट कुष्ठरोगको परीक्षण सुरु भएपछि बिरामीको रोग पहिचानमा थप सहज हुने देखिएको छ । प्रतिष्ठानले यो सेवा सुरुवात गर्न योगदान दिने सम्पूर्ण टोलीलाई धन्यवाद दिएको छ ।
