इतिहासमा आजः डेढ महिनासम्म यातना दिएपछि पत्रकार डेकेन्द्रलाई जिउँदै पुरे

वि. सं. २०६१ असार १२ गते सशस्त्र द्वन्द्वका क्रममा माओवादीद्वारा दैलेखका पत्रकार डेकेन्द्रराज थापाको अपहरण गरी साउन २७ गते हत्या गरिएको थियो।

०६१ तिर माओवादी विद्रोहीहरूले दैलेख सदरमुकाम आउने खानेपानीको मुख्य पाइपलाइन काटिदिएका थिए।

सदरमुकामबासी काकाकुल बनेपछि रेडियो नेपालका स्थानीय संवाददाता तथा दैलेख खानेपानी उपभोक्ता समितिका अध्यक्ष रहेका पत्रकार डेकेन्द्र थापा खानेपानीको समस्या समाधानका लागि माओवादी नियन्त्रित क्षेत्रमा वार्ता गर्न गएका बेला माओवादी कार्यकर्ताहरूले अपहरण गरी झन्डै डेढ महिनासम्म नियन्त्रणमा राखेर शारीरिक र मानसिक यातना पछि उनलाई जंगलमा गाडेका थिए।

शान्ति सम्झौतापछि विस्तृत खोजतलास गर्दा हत्या भएको ४ वर्षपछि मात्रै फेला परेको कङ्कालको दाँतको बनावट र कपडाका आधारमा पत्रकार डेकेन्द्र थापाको पहिचान गरिएको थियो।

२०६५ सालमा राष्ट्रिय मानव अधिकार आयोग र फरेन्सिक विज्ञहरूको टोलीले कङ्काल उत्खनन गर्दा डेकेन्द्रको मुख अस्वाभाविकरूपमा खुला थियो र बायाँ खुट्टा र दाहिने कुइनो भाँचिएको थियो।

चिकित्सा विज्ञान र मानवअधिकारवादीहरूको फरेन्सिक जाँचले उनी कुटपिटबाट बेहोस वा अर्धमृत अवस्थामा छँदै जंगलको भीरको खोँचमा जीवितै पुरिएको निष्कर्ष निकालेको थियो, जसले गर्दा श्वास फेर्न खोज्दा उनको मुख खुला रहन गएको थियो।

यो घटनाको एउटा अनौठो पाटो के हो भने हत्यामा संलग्न मुख्य व्यक्तिहरू मध्येका एक लक्षीराम घर्तीमगर वर्षौंसम्म मानसिक तनाव र आत्मग्लानिमा बाँचेका थिए।

उनले सपनामा डेकेन्द्रले आफूलाई लखेटेको देख्ने गरेको र पापको प्रायश्चित्त गर्न भन्दै आफैँ प्रहरीसमक्ष पुगेर अपराध स्वीकार गरेका थिए। उनकै बयानका आधारमा यो घटनाको सम्पूर्ण सत्य र अन्य दोषीहरूको विवरण सार्वजनिक भएको थियो।

Exit mobile version