श्मसानघाटमा मध्यरात अश्लील हर्कत गर्ने ४ जना पक्राउ

मोरङको विराटनगर महानगरपालिका–१ स्थित परोपकार घाट क्षेत्रमा अश्लील तथा सार्वजनिक शिष्टाचारविपरीत गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार असार १० गते राति करिब १२ः३० बजे परोपकार घाटस्थित दाहसंस्कार गरिने सार्वजनिक स्थलमा केही व्यक्तिहरू भेला भई होहल्ला गरिरहेका र दुई जना पुरुष निर्वस्त्र अवस्थामा रहेको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

प्रहरीले घटनास्थलबाट चार जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको जनाएको छ।

पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका–१ का ४४ वर्षीय शुशुक मण्डल, सुनसरीको रामधुनी नगरपालिका–६ का २५ वर्षीय कैलाश ढुंगाना, भोजपुरको रामप्रसाद राई गाउँपालिका–६ का १८ वर्षीय मानिन काफ्ले तथा विराटनगर महानगरपालिका–४ का ४४ वर्षीय छविलाल घिमिरे रहेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङले सार्वजनिक स्थलमा अश्लील तथा अमर्यादित गतिविधि नगर्न सर्वसाधारणलाई आग्रह गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

Exit mobile version