पोखरा महानगरको बजेट सवा ७ अर्ब, विकासमा भन्दा प्रशासनमा बढी विनियोजन

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब १५ करोड २५ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

शुक्रबार आयोजित १९औं नगरसभामा उपप्रमुख मञ्जुदेवी गुरुङले आगामी वर्षका कार्यक्रम र खर्चको योजना प्रस्तुत गरेकी हुन् । यसपटक महानगरले विकास निर्माण (पुँजीगत) भन्दा प्रशासनिक र सेवा प्रवाह (चालु) तर्फ बढी रकम विनियोजन गरेको छ ।

कुल बजेटमध्ये ५५.१ प्रतिशत रकम चालु खर्चका लागि छुट्याइएको छ भने ४४.९ प्रतिशत मात्रै पुँजीगत खर्चतर्फ विनियोजन गरिएको छ ।

महानगरले बजेटको स्रोत जुटाउन संघीय सरकारबाट ३ अर्ब १८ करोड ६० लाख रुपैयाँ वित्तीय हस्तान्तरणमार्फत प्राप्त हुने आशा राखेको छ । यसमा सबैभन्दा ठूलो हिस्सा ससर्त अनुदानको छ, जुन २ अर्ब ६१ करोड ९१ लाख रुपैयाँ रहेको छ ।

यस्तै, समानीकरण अनुदानतर्फ ४९ करोड ३७ लाख, विशेष अनुदानतर्फ ५ करोड ५० लाख र समपूरक अनुदानतर्फ १ करोड ८२ लाख रुपैयाँ संघीय सरकारबाट प्राप्त हुने अनुमान गरिएको छ ।

गण्डकी प्रदेश सरकारबाट भने महानगरले कुल ९ करोड १५ लाख ३६ हजार रुपैयाँ पाउने प्रक्षेपण गरेको छ । जसमा समानीकरण अनुदान ८ करोड १५ लाख ३६ हजार, समपूरक ६० लाख र विशेष अनुदान ४० लाख रुपैयाँ रहेको छ ।

आन्तरिक आय र राजस्व बाँडफाँडतर्फ महानगरले ३ अर्ब ८७ करोड ४९ लाख ६४ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ । यसमध्ये महानगरको आफ्नै आन्तरिक स्रोतबाट २ अर्ब ४८ करोड ७३ लाख ९१ हजार रुपैयाँ जुटाइनेछ ।

बाँकी रकममध्ये संघीय राजस्व बाँडफाँडबाट ३४ करोड ३४ लाख ७३ हजार, प्रदेशबाट ४ करोड ९ लाख ८६ हजार र स्थानीय राजस्वतर्फ १ अर्ब ३१ लाख १४ हजार रुपैयाँ प्राप्त हुने विवरण बजेटमा उल्लेख छ ।

Exit mobile version