बाँकेको नेपालगन्जस्थित यातायात व्यवस्था कार्यालयमा सवारी चालक अनुमति पत्रका लागि आवश्यक पर्ने नक्कली मेडिकल रिपोर्ट बनाउने कार्यमा संलग्न चिकित्सकसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
असार ४ गते जिल्ला प्रहरी कार्यालय बाँकेले उनीहरूलाई पक्राउ गरेको हो।
यातायात कार्यालयमा सवारी चालक अनुमति पत्र लिन तथा नवीकरण गर्दा आवश्यक पर्ने मेडिकल चेकजाँच र निरोगिताको प्रमाणपत्र जारी गर्दा अनियमितता भएको सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको थियो।
आधिकारिक व्यक्तिमार्फत चेकजाँच गरी चिकित्सकले मेडिकल रिपोर्ट दिनुपर्नेमा चिकित्सकले प्रमाणपत्रमा पहिले नै सही गरेर छाड्ने गरेको पाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार चिकित्सकले हस्ताक्षर गरेर छाडेको सोही प्रमाणपत्रमा अन्य कर्मचारीले निवेदकको नाम, थर र ठेगाना लेखी २ सय रुपैयाँ लिई वितरण गरिरहेका थिए।
यस्तो सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले निगरानी तथा अवलोकन गर्ने क्रममा उक्त कार्यमा संलग्न र सही छाप गर्ने चिकित्सकसहित पाँच जनालाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको बताए।
