राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन ७ गतेबाट चितवनमा हुँदै छ । उद्घाटन सत्रमा प्रधानमन्त्री एवम् रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह पनि उपस्थित हुनेछन् ।
उद्घाटन सत्रमा उपस्थित भएका वरिष्ठ नेता शाहले सम्बोधन गर्ने कार्यसूची छ। यस्तै पार्टीका सभापति रवि लामिछानेले पनि उद्घाटन सत्रमा आफ्नो सम्बोधन गर्नेछन् ।
पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह र सभापति रवि दुवैले महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यसूची रहेको आयोजकले जनाएको छ।
प्रधानमन्त्री बालेन र पार्टीको पहिलो महाधिवेशनमा सहभागी हुँदैनन् भन्ने हल्ला फैले पनि सचिवालय उपस्थित भएर सम्बोधन गर्ने कार्यसूची रहेको जानकारी दिन्छ। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा वरिष्ठ नेतामा स्वतः बालेन्द्र शाह मनोनीत हुनेछन् ।
पार्टी सभापतिमा कुनै नेताहरूले उम्मेदवारी दिने अवस्था नरहेपछि सभापति रवि लामिछाने नै दोहोरिने अवस्था छ ।
१९ पदाधिकारीमा पनि पार्टीले सर्व सहमतिको प्रक्रिया गर्न लागेको देखिन्छ। १५८ केन्द्रीय सदस्य बनाउन लागेको राष्ट्रिय स्वतन्त्र पार्टीले ५१ जना सभापतिलाई मनोनीत गर्न दिनेछ । सात प्रदेशका प्रदेश सभापतिहरू पदेन सदस्य हुनेछन्।
सबै परिस्थिति नियाल्दा १०० जना केन्द्रीय सदस्यका लागि मात्रै पार्टीमा निर्वाचन हुने अवस्था देखिन्छ ।
आयोजकका अनुसार चितवनमा महाधिवेशनका लागि अन्तिम तयारी भइरहेको छ। उद्घाटन सत्रमा मुख्य दलका शीर्ष नेताहरूलाई समेत निमन्त्रणा दिएको छ।
