क्रिस्टियानो रोनाल्डोले सामाजिक सञ्जाल फेसबुकमा पोर्चुगलको निराशाजनक सुरुवातप्रति संक्षिप्त प्रतिक्रिया दिएका छन् । उनले सुरुवात राम्रो नभए पनि आगामी खेलमा केन्द्रित हुने बताएका हुन् ।
पहिलो खेलमै प्रजातान्त्रिक गणतन्त्र कंगोसँग १–१ गोलको बराबरीमा रोकिएपछि पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले टोलीको बचाउ गरेका हुन् ।
खेललगत्तै सामाजिक सञ्जाल फेसबुकमार्फत उनले लेखेका छन्, “यो हामीले चाहेको जस्तो सुरुवात होइन, तर अझै धेरै खेलहरू बाँकी छन् । अब शिर ठाडो पारेर अर्को खेलमा केन्द्रित हुनुपर्छ ।”
छैटौँ मिनेटमै जोआओ नेभेसको गोलबाट अग्रता लिए पनि योआन विसाले कर्नरमार्फत बराबरी गोल फर्काएपछि पोर्चुगल दबाबमा आएको थियो । पोर्चुगिज मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले पहिलो गोलपछि खेलको रूप फेरिएको स्वीकार गरे ।
उनले भने, “पहिलो गोलपछि हाम्रो निर्णय प्रक्रिया र भित्री तालमेलमा कमजोरी देखियो । कंगोले बराबरी गरेपछि खेल पूर्ण रूपमा बदलियो । अब हामीले गल्तीहरू सुधार्नुपर्छ ।”
उता, कंगोका प्रशिक्षक सेबास्टियन देसाब्रेले आफ्ना खेलाडीहरूको मानसिक दृढताको प्रशंसा गरे । सुरुवाती दबाबलाई झेलेर पुनरागमन गर्न आफ्नो टोली सक्षम रहेको उनले बताए ।
खेलका दौरान ४१ वर्षीय रोनाल्डो कंगोको रक्षापंक्तिसामु निरीह देखिएका थिए । उनले प्रहार गरेका तीनमध्ये दुई प्रहार दिशाहीन रहे । फ्रान्सिस्को कोन्सेइसाओले सिर्जना गरेका अवसरलाई पनि रोनाल्डोले सदुपयोग गर्न सकेनन् ।
सन् २०२२ को विश्वकपमा घानाविरुद्ध पेनाल्टीमार्फत गोल गरेयता रोनाल्डोले विश्वकप र युरोकप जस्ता प्रमुख प्रतियोगिताका १० खेलमा कुनै गोल गर्न सकेका छैनन् ।
रोनाल्डोको खस्किँदो प्रदर्शनका बाबजुद प्रशिक्षक मार्टिनेजले उनको बचाउ गर्न छोडेका छैनन् । खेलपछि पत्रकारको प्रश्नको जवाफ दिँदै मार्टिनेजले भने, “हाम्रो टोलीले रोनाल्डोसम्म बल पुर्याउनै सकेन, यसमा टोलीको कमजोरी हो । जब गोल आवश्यक हुन्छ, संसारकै उत्कृष्ट गोलकर्तालाई मैदानबाहिर राख्नुको कुनै औचित्य हुँदैन ।”
खेलको ८३ औँ मिनेटमा अर्का फरवार्ड गोन्सालो रामोसलाई मैदान छिराउँदा पनि मार्टिनेजले रोनाल्डोलाई नहटाएर मिडफिल्डर भिटिन्हालाई निकालेका थिए । प्रशिक्षक मार्टिनेजसँग कुनै ‘प्लान बी’ नभएको भन्दै पोर्चुगाली सञ्चारमाध्यमले उनको आलोचना गर्न थालेका छन् ।
