पोखरा महानगरपालिका वडा नम्बर २६ का वडाध्यक्ष नरेन थापाले साविक लेखनाथ नगरपालिकालाई पोखरामा विलीन गराउँदा लेखनाथवासीको जनअभिमत कुल्चिएको भन्दै त्यसलाई ऐतिहासिक भूलका रूपमा चित्रण गरेका छन् ।
तर, अहिले फेरि अभियानका नाममा आम नागरिकको भावनालाई किनारा लगाएर अँध्यारो कोठामा नेता फकाउँदै चोरबाटोबाट नगरसभामा एजेण्डा छिराउने चेष्टा भइरहेको भन्दै उनले आपत्ति जनाएका छन् ।
सरकारको परिपत्र एकातिर र सस्तो लोकप्रियताको दौड अर्कैतिर रहेको भन्दै उनले कुनै समूहको निहित राजनीतिक स्वार्थ सिङ्गो लेखनाथको जनमत हुन नसक्ने स्पष्ट पारे ।
वडाध्यक्ष थापाले भने, ‘यदि साविक लेखनाथवासी आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू आत्मैदेखि छुट्टै अस्तित्व चाहनुहुन्छ र वास्तविक जनमत त्यही हो भने तपाईंहरूको चाहना र अभिमतलाई शिरमा राखेर म आफैं अगाडि सर्नेछु ।’
संघीय सरकारले विधिको ढोका खोलेमा लेखनाथको गौरवका लागि रातारात नगरसभाबाट प्रस्ताव पास गर्न आफूहरू पछि नहट्ने उनले बताए । तर, स्थापित कानुनी समयसीमा सकिइसकेपछि अभियानको आवरणमा समाजमा भ्रमको खेती गर्ने र ऐतिहासिक सामाजिक सद्भाव भड्काउने खेल बन्द गर्न उनले आग्रह गरे ।
लेखनाथ कसैको राजनीतिक रोटी सेक्ने चुल्हो बन्न नहुने भन्दै उनले भावनाको व्यापार नगर्न र विधिको सम्मान गर्न जोड दिए । यस विषयलाई कार्यपालिका बैठकमा प्रवेश गराएकोमा उनले पोखरा ३० का वडाध्यक्ष दुर्गा प्रसाद सुवेदीलाई धन्यवाद समेत दिएका छन् ।
