भ्रष्टाचार मुद्दामा सफाई पाएका कुमानसिंहलाई कास्की सीडीओको जिम्मेवारी

पर्वतको कुश्मा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुँदा रकम हिनामिना गरेको अभियोगमा गत २० पुसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट सफाई पाएका कुमानसिं गुरुङ्लाई कास्कीको प्रमुख जिल्ला अधिकारी (सीडीओ)को जिम्मेवारी दिइएको छ ।

अख्तियारमा मुद्दा दायर हुँदा उनी बाग्लुङको सिडिओका रूपमा कार्यरत थिए ।

आर्थिक वर्ष ०७८/७९ मा कुश्मा नगरपालिका– ७ स्थित खरेहामा ज्येष्ठ नागरिक भवन निर्माण गर्दा ठेकेदारसँग मिलेमतो गरेर भ्रष्टाचार गरेको अख्तियारको दाबी थियो ।

उनीविरुद्ध एक करोड १३ लाख ४४ हजार २१६ रुपैयाँ बिगो कायम भएको थियो ।

आव ०७८/७९ मा संघीय सरकारको विशेष अनुदान कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिक भवन निर्माणका लागि एक करोड ६६ लाख विनियोजन भएको थियो ।

भवन निर्माणका लागि एक करोड ४४ लाख १० हजारको लागत अनुमान तयार गरिएको थियो । ९६ लाख ३० हजारमा भवन निर्माण सम्पन्न गर्ने गरी ७ पुस ०७८ मा मल्ल कन्स्ट्रक्सन एन्ड सप्लायर्ससँग खरिद सम्झौता भएको थियो ।

२४ असार ०७९ मा निर्माण सम्पन्न गर्ने सम्झौतामा उल्लेख थियो ।

साथै, निर्माणाधीन ज्येष्ठ नागरिक भवन निर्माणमा पहिलो बिल अनुसार मूल्यांकित रकमभन्दा पेस्कीसहित १२ लाख ५६ हजार बढी भुक्तानी गरेको अख्तियारको दाबी थियो ।

मुद्दा दायर हुनुअघि नै सो रकम ठेकदारबाट दाखिला भइसकेको भन्दै अदालतले उनलाई सफाइ दिएको हो ।

हाल कार्यरत सिडिओ रुद्रादेवी शर्मालाई धनकुटा सरुवा गरिएको छ ।

Exit mobile version