पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार: पूर्वसचिव अधिकारीसहित २१ जनाविरुद्ध मुद्दा दायर

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दोस्रो मुद्दा दायर गरेको छ ।

आयोगले तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारीसहित २१ जना व्यक्ति र दुई कम्पनीलाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको हो ।

अख्तियारले पहिलो मुद्दा दायर गर्दा नै पोखरा विमानस्थल निर्माणमा राजस्व छुटलगायतका विषयमा अनुसन्धान भइरहेको र छिट्टै मुद्दा दायर हुने विवरण पेस गरेको थियो । सोही आधारमा थप अनुसन्धान सकेर अख्तियारले ४६ करोड १५ लाख ८४ हजार ४३४ रुपैयाँ बिगो माग गर्दै नयाँ मुद्दा दायर गरेको हो ।

विमानस्थलमा परामर्शदाता नियुक्तिका लागि एपीसीमा रहेको अधिकतम लागत मूल्य ३३ करोड ९४ लाख रुपैयाँ रहेको र सो रकम ऋण सम्झौताबाट भुक्तानी गर्नुपर्नेमा त्यसो नगरेको अख्तियारको ठहर छ ।

परामर्शदाता नियुक्तिका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणको आन्तरिक बजेटबाट व्यहोर्ने गरी ५० करोड ३४ लाख रुपैयाँको लागत मूल्य तयार पारिएको थियो । तर, यसरी प्राधिकरणको छुट्टै बजेट खर्च गर्न नमिल्ने अख्तियारले जनाएको छ ।

त्यसैगरी प्राधिकरणको आन्तरिक बजेटबाट भुक्तानी गर्ने गरी भएको परामर्श सेवाको सम्झौता रकम ४२ करोड ८९ लाख रुपैयाँ रहेको थियो । सो बजेट खर्च गर्न नमिल्ने जान्दाजान्दै सोही बजेटबाट खर्च गर्ने गरी सम्झौता गरेको अख्तियारको दाबी छ ।

परामर्श सेवाको हालसम्म भुक्तानी भएको ४० करोड ६८ लाख रुपैयाँमध्ये ८ करोड ९५ लाख रुपैयाँ हिनामिना, हानिनोक्सानी र दुरुपयोग भएको अख्तियारले उल्लेख गरेको छ ।

ठेक्का सम्झौतामा उल्लेखित लागत अनुमानभन्दा बढी रकम उल्लेख गरी सम्झौता गरेको र ६ करोड ७३ लाख ९२ हजार रुपैयाँ बढी भुक्तानी गरेको समेत अख्तियारले बताएको छ ।

यी हुन् प्रतिवादीहरु:

– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव केदारबहादुर अधिकारी
– नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकहरु संजीव गौतम र राजन पोखरेल
– प्राधिकरणका तत्कालीन उपमहानिर्देशक महेन्द्रसिंह रावल
– प्राधिकरणका तत्कालीन निर्देशक स्व. ध्रुवदास भोछिभोया
– राष्ट्रिय गौरव आयोजनाका तत्कालीन आयोजना निर्देशक प्रदीप अधिकारी
– राष्ट्रिय गौरव आयोजनाका तत्कालीन आयोजना निर्देशक बाबुराम पौडेल
– राष्ट्रिय गौरव आयोजनाका तत्कालीन प्रबन्धक चाँदमाला श्रेष्ठ
– राष्ट्रिय गौरव आयोजनाका तत्कालीन उपनिर्देशक प्रवीण न्यौपाने
– पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका तत्कालीन आयोजना प्रमुख विनेश मुनकर्मी
– राष्ट्रिय गौरव आयोजनाका तत्कालीन अधिकृत राजाराम चौधरी
– राष्ट्रिय गौरव आयोजनाका तत्कालीन उपप्रबन्धक हिमज्योति थापा
– राष्ट्रिय गौरव आयोजनाका तत्कालीन वरिष्ठ लेखा अधिकृत नरेन्द्रराज सैंजु
– राष्ट्रिय गौरव आयोजनाका तत्कालीन लेखा अधिकृत वा उपप्रबन्धक प्रमोद नेपाल
– राष्ट्रिय गौरव आयोजनाका तत्कालीन वरिष्ठ लेखा अधिकृत वा उपप्रबन्धक सविन फुयाल


Scroll to Top