पोखरा महानगरपालिका क्षेत्रमा ‘मेगा वृक्षारोपण अभियान जारी रहेको छ । पोखरालाई स्वच्छ र हरित सहरको रूपमा विकास गर्न ‘ग्रिन पोखरा, क्लिन पोखरा’ परियोजना अन्तर्गत वृक्षारोपण अभियान थालिएको नगर प्रमुख धनराज आचार्यले बताए ।
अभियान अन्तर्गत विश्व वातावरण दिवसका अवसरमा शुक्रबार पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा ६ हजार बढी बिरुवा लगाइएको छ ।
नगर प्रमुख आचार्यको उपस्थितिमा पोखरा उपत्यका नगर विकास समितिको कार्यालय परिसरमा विभिन्न प्रजातिका फूल तथा फलफूलका बिरुवा लगाइयो ।
नगर प्रमुख आचार्यले अभियानका क्रममा आ-आफ्नो स्थानबाट बिरुवा लगाएर ‘ग्रिन पोखरा, क्लिन पोखराु’निर्माणमा योगदान गर्न नगरवासीलाई आह्वान गरे । आफ्नो घर तथा पसल अगाडि लगाइएका बिरुवाको नियमित गोडमेल तथा संरक्षण गर्दै वातावरणीय स्वच्छता प्रवर्द्धन गर्न उनले आग्रह गरे ।
अभियान अन्तर्गत लामो अध्ययन पश्चात् वन विज्ञान अध्ययन संस्थान र वन तथा वातावरण सम्बन्धी विज्ञको सुझाव अनुसार नगर क्षेत्रको ७ सय किलोमिटर सडक तथा राजमार्ग, झन्डै ६७ किलोमिटर नदी तथा खोला किनार र २९ सार्वजनिक स्थलको १२५ हेक्टर खुला क्षेत्रमा ३८ प्रजातिका २ लाख २६ हजार बिरुवा लगाइने उनले बताए ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले अभियानलाई सार्थक तुल्याउन हरेक नगरवासीले आफ्ना अगाडिका बिरुवाको संरक्षणको दायित्व लिनुपर्ने बताए । आफ्नो वरपरको वातावरणलाई सफा, स्वच्छ र हराभरा बनाउनका लागि महानगरपालिका साथमा रहेको उल्लेख गर्दै उनले महानगरको अभियानमा साथ दिन आग्रह गरे ।
विज्ञको सुझाव अनुसार महानगर क्षेत्रमा पहिचान गरिएका क्षेत्रमा लगाउन सकिने बिरुवामा वर, पिपल, शमी, पैयुँ, कोइरालो, टाँकी, लाली गुराँस, असारे, आँप, अमला, अशोका, कल्की फूल, राइखन्यु, गुलमोहर, बैँस, लालुपाते, कागज पाते, पालम, धुपी, बाँस, खयर, सिसौ, पाखुरी, राजवृक्ष, रातो पाते, सिना एक्साटाविलिस, टिकोमा, कपुर, लिची, किम्बु, बेल, अम्बा, निमारो, कदम, रुद्राक्ष, बेडुला, नारेश्वर र जंगली केरा लगायत छन् ।
