राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता पञ्चराम गुरुङले प्रदेश सरकारको नीति तथा कार्यक्रममा ‘गरिने छ’ हैन ‘अनिवार्य गर्ने छौँ’ भनेर उल्लेख गर्न सुझाएका छन् ।
जेठ १९ गते गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै प्र्रदेश सभा सदस्य गुरुङले सुकुम्बासी समस्या समाधानका लागि स्थानीय सरकारसँगको समन्वय कत्तिको प्रभावकारी हुन्छ भन्नेमा उनले आशंका व्यक्त गरे ।
राम्रो कामको समर्थन र कमजोरीमा सचेत गराउनु प्रतिपक्षको दायित्व भएको भन्दै उनले सरकारले आफ्नो टार्गेट मिट गर्न कम्मर कसेर लाग्नुपर्ने बताए ।
पर्यटन क्षेत्रमा ५ वर्षभित्र पर्यटकको संख्या दोब्बर बनाउने लक्ष्यलाई उनले संख्यामै तोकेर स्पष्ट पार्न आग्रह गरे । पोखरालाई ट्रान्जिट सिटी मात्र नभई पर्यटनको प्रमुख गन्तव्य बनाउने गरी पूर्वाधार र सेवा सुविधा विस्तार गर्नुपर्ने उनको सुझाव छ ।
उनले ‘पोखरा जाऔँ, क्रुज र हिमालसँग रमाऔँ’ जस्ता वास्तविक र आकर्षक नाराहरू तय गर्नुपर्ने बताए । तालहरूको सौन्दर्यीकरण गर्ने कुरामा कुन कुन तालमा के के काम हुन्छ भन्ने नामै किटान गरेर ल्याउन सके नीति अझ प्रभावकारी हुने उनले उल्लेख गरे ।
कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नु सकारात्मक भए पनि किसानका आधारभूत समस्या सम्बोधन हुन नसकेको गुरुङको भनाइ छ । कृषकलाई कर्जामा ब्याज अनुदान दिने कुरा स्वागत योग्य भए पनि कति सम्मको कर्जा र कस्ता किसानलाई दिने भन्ने स्पष्ट नभएको उनले बताए ।
‘रिटर्न टु भिलेजको कुरा गरिएको छ तर गाउँमै बसेर कृषि गरिरहेका किसानका लागि के छ र ?’ उनले प्रश्न गरे ।
मल र बीउको बाह्रमासे समस्या जस्ताको तस्तै राखेर सम्मानजनक कृषि प्रदेश भन्न नसकिने भन्दै उनले यस्ता समस्या समाधानमा सरकारले तादात्म्य मिलाउनुपर्ने बताए ।
