बागलुङ खबरः ६२ वर्षीय वृद्धको हत्यामा २६ वर्षीया श्रीमतिसहित तीन पक्राउ

बागलुङको जैमिनी नगरपालिकामा एक वृद्धको हत्या गरेको अभियोगमा प्रहरीले उनकी श्रीमतीसहित तीन जनालाई पक्राउ गरेको छ।

लमजुङको क्वहोलासोथार गाउँपालिका वडा नम्बर ९ घर भएका ६२ वर्षीय देउबहादुर सार्कीको हत्या भएको हो।

प्रहरीका अनुसार जेठ १८ गते दिउँसो सवा ४ बजे बागलुङ जिल्ला, जैमिनी नगरपालिका वडा नम्बर १०, राङखानी हाडीकोट सामुदायिक वनस्थित प्रतिक्षालयमा सार्कीको हत्या भएको थियो।

हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककी श्रीमती २६ वर्षीया लक्ष्मी नेपालीसहित तीन जनालाई नियन्त्रणमा लिएको छ। लक्ष्मी तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर ७, पहरेकी बासिन्दा हुन्।

पक्राउ पर्ने अन्य प्रतिवादीहरुमा कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २६, जलधारे घर भएका ३८ वर्षीय राम आकाश विश्वकर्मा र कास्कीकै मादी गाउँपालिका वडा नम्बर ३, याङजाकोट घर भएका ५६ वर्षीय आसपुरे कामी रहेका छन्।

आसपुरे कामीलाई ‘दमाई’ भनेर पनि चिनिने प्रहरीले जनाएको छ।

उनीहरुले देउबहादुरको टाउकोमा ढुंगाले प्रहार गरी हत्या गरेर फरार भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

फरार रहेका उनीहरुलाई कानुन बमोजिम नियन्त्रणमा लिई जेठ १९ गते बागलुङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति प्राप्त गरी आवश्यक अनुसन्धान कार्य भइरहेको सूचना अधिकारी एवं प्रहरी निरीक्षक याम नारायण अर्यालले बताएका छन्।

Exit mobile version