के फ्लाई दुबईले यूएई – पोखरा उडान भर्ला ?

विश्वको प्रमुख हवाई सेवा प्रदायक कम्पनी फ्लाई दुबईका उड्डयन सुरक्षा उपाध्यक्ष एड्रियन लुकाजले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटवार्ता गरेका छन् ।

भेटपछि उक्त विमान कम्पनीले पोखरा उडान भर्ने सम्भावनासहितका सन्देश प्रमुख आचार्यले शेयर गरेपछि पोखरेलीलाई आशा जगाएका छन् ।

उड्डयन क्षेत्रमा २० वर्षभन्दा बढी अनुभव हासिल गर्नुभएका लुकाजले भेटका क्रममा फ्लाई दुबई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा समेत उडान सञ्चालन गर्न इच्छुक रहेको बताएका छन् ।

नले फ्लाई दुबईको उडान पोखरासँग जोडिन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धन र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने उल्लेख गरे ।

उड्डयन सुरक्षा, जोखिम व्यवस्थापन तथा एयरलाइन सञ्चालनका क्षेत्रमा विशेषज्ञता हासिल गर्नुभएका लुकाजले पोखराको प्राकृतिक सौन्दर्यले आफूलाई निकै प्रभावित बनाएको उनको धारणा छ ।

रात्रीभोजमा सरिक लुकाजले विमानस्थलहरूको अन्तर्राष्ट्रिय तथा स्थानीय उड्डयन सुरक्षा मापदण्डको प्रभावकारी कार्यान्वयनमा पोखराले सम्भावना बोकेको धारणा राखेपछि पोखरेलीको सपना साकार हुने सम्भावना बढेको छ ।

भेटका क्रममा नगर प्रमुख आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि महानगरपालिकाले निरन्तर पहल गरिरहेको जानकारी दिएका छन् ।

उनले नेपाल र संयुक्त अरब इमिरेट्सबीचको पर्यटन आदानप्रदानलाई थप सुदृढ बनाउन सिधा उडानको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्दै फ्लाई दुबईलाई विशेष पहल गर्न आग्रह गरे ।

नगर प्रमुख आचार्यले नेपाल सरकारसँग पनि पटक–पटक समन्वय तथा संवाद भइरहेको र विशेष अवसरहरूमा अन्तर्राष्ट्रिय चार्टर उडान सञ्चालन भइरहेकाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित अन्तर्राष्ट्रिय उडानका लागि सक्षम रहेको बताए।

पर्यटनको राजधानीका रूपमा परिचित पोखरालाई अन्तर्राष्ट्रिय बजारमा थप प्रवर्द्धन गर्न नियमित अन्तर्राष्ट्रिय उडान आवश्यक रहेको उहाँको भनाइ थियो।

भेटवार्तामा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, पोखरा भ्रमण वर्षका संयोजक गोपीबहादुर भट्टराईलगायतको सहभागिता रहेको थियो।

Exit mobile version