विशेष अदालतले पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
न्यायाधीशहरू सुदर्शनदेव भट्ट र विदुर कोइरालाको संयुक्त इजलासले महरालाई एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।
महराविरूद्ध गत २६ चैतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप)भित्र लुकाएर सुन तस्करी गरेको अभियोगमा मुद्दा चलाएको थियो । उनका छोरा राहुलसहित २८ जनाविरुद्ध विशेष अदालतमा दायर भएको भ्रष्टाचार मुद्दामा यस्तो आदेश भएको हो ।
आयोगले दायर गरेको आरोपपत्र अनुसार उनीहरूले भेपको भित्री भागमा सुनका साना टुक्रा लुकाएर चीनबाट नेपाल ल्याई त्यसलाई विदेशी बजारमा बिक्री गर्ने संगठित तस्करी सञ्जाल सञ्चालन गरेका थिए ।
मुद्दामा पूर्वमन्त्री समेत रहेका महरा बाबुछोरालाई मुख्य योजनाकारका रूपमा उल्लेख गरिएको थियो।
आरोपितहरूले २०२२–२०२३ मा चीनबाट भेपमार्फत सुन तस्करी गरेको प्रमाण आयोगले फेला पारेको दाबी अख्तियारको थियो।
मुद्दामा अख्तियारले २८ जनालाई भ्रष्टाचार, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कानुनअन्तर्गत कारबाही गर्न माग गरेको थियो।
पूर्वसभामुख महरा र छोरा राहुलविरूद्ध ७ करोडको भ्रष्टाचार मुद्दा
महराको भेपबाट हुने सुन तस्करीमा संलग्न चिनयाँ नागरिकसँगको सम्बन्ध र कारोबार खुलेपछि अख्तियारले मुद्दा लैजाने निर्णय गरेको थियो ।
चिनियाँ गिरोहले २०७९ मा भेपको आवरणमा सुन भित्र्याउन खोज्दा भन्सारले पक्राउ गरेको थियो । महराविरूद्ध यसअघि गत असोज २७ गते जिल्ला अदालत काठमाडौंमा पनि मुद्दा दर्ता भएको थियो।
उनलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो। उच्च अदालत पाटनले महरालाई गत मंसिर ११ गते २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

