पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र पर्यटनमन्त्री गनेस पौडेलले पोखराको पृथ्वीचोकस्थित सेती पुलको निरीक्षण गर्दै भौतिक प्रगतिबारे जानकारी लिएका छन् ।
निरीक्षणकाक्रममा पूर्वाधार विकासमन्त्री लम्सालले तोकिएको समयमै आयोजना सम्पन्न गर्न निर्माण पक्षलाई सचेत गराएका छन् ।
पोखरा भित्रिने मुख्य प्रवेशद्वारका रूपमा रहेको यो पुल निर्माणका लागि २०७९ साउन २६ गते सम्झौता भएको थियो । ३ वर्षभित्र सक्ने लक्ष्य राखिए पनि चीनबाट सामग्री र जनशक्ति ल्याउन भएको कठिनाइले सुरुमा काममा ढिलाइ भएको थियो ।
यस्तै दुईवटा घरको मुआब्जा विवाद र २ मिटर नियमित बाटोको पहुँच माग गर्दै स्थानीयले गरेको अवरोधका कारण निर्माणले गति लिन सकेको थिएन । यिनै कारणले पुलको म्याद दुई पटक थप भइसकेको छ ।
पहिलो पटक २०८३ वैशाख २१ गतेसम्मका लागि म्याद थपिए पनि काम नसकिएपछि दोस्रो पटक २०८३ चैत १७ गतेसम्म म्याद बढाइएको छ ।
पुलको हालसम्मको भौतिक प्रगति ६०.१४ र वित्तीय प्रगति ५४.७५ प्रतिशत पुगेको छ । आयोजनाका प्रोजेक्ट म्यानेजर कृष्णबहादुर कुँवरले यसबारे मन्त्रीहरूलाई जानकारी दिए ।
‘हामीले रफ्तारमा काम गरिरहेका छौं, तर प्राविधिक कारणले केही ढिलाइ हुन गएको हो,’ कुँवरले भने ।
उनले तल्लोपट्टीको पुलको काम चाँडै सकिने र उत्तरतर्फको काम पनि निर्धारित समयमै सम्पन्न गर्ने दाबी गरे । उनले उत्तरतर्फका दुई घरको मुआब्जा र बाटोको विवादले काममा केही असर परेको स्पष्ट पारे ।
विवादित घर हटाउने विषयमा कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले एक हप्ताको समय दिएकी छन् । ‘घरधनीसँग एक हप्ताभित्र घर हटाउने सहमति भएको छ, सहमति पालना नभए बल प्रयोग गरेर भए पनि हटाउँछौं,’ उनले भनिन् । अब यो कारणले निर्माणमा कुनै अवरोध हुन नदिने उनले प्रतिबद्धता जनाइन् ।
मुग्लिङ पोखरा सडक आयोजना निर्माण कम्पनी एमएस रसुवा कन्स्ट्रक्सनका कन्सल्टेन्ट लिडर एनरिको मग्नानीले पनि पुल निर्माणको काम सन्तोषजनक रहेको बताए । ‘हामीले हाम्रो सम्पूर्ण बल लगाएका छौं, आशा छ अब समयमै बन्छ,’ उनले भने ।
एसियाली विकास बैंक (एडिबी)को सहयोगमा भ्याटसहित १ अर्ब ७ करोड रुपैयाँको लागतमा यो पुल निर्माण भइरहेको हो
