एक वर्षपछि गण्डकी सरकारले तोक्यो राइड सेयरिङको भाडा दर

गण्डकी प्रदेश सरकारले प्रदेशभित्र चल्ने राइड सेयरिङ साधनको भाडा तोक्ने निर्णय गरेको छ । राइड सेयरिङ नियमावली मन्त्रिपरिषद् बैठकबाट पारित गर्दै प्रदेश सरकारले कार्यान्वयनमा ल्याएको हो ।

दुई तथा चार पाङ्ग्रे सवारीसाधनको भाडादरसहित २२ वैशाखमा नियमावली पारित गरिएको थियो ।

गत साल ३१ वैशाखमा प्रदेशले पहिलो पटक उक्त नियमावली पारित गरे पनि संघ सरकारको परिपत्र र यातायात व्यवसायीको आन्दोलनका कारण कार्यान्वयनमा ल्याउन सकेको थिएन ।

प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार चार पांग्रे तथा दुई पांग्रे र पेट्रोल तथा विद्युतीय सवारी साधनमा दर फरक– फरक छ ।

पेट्रोलबाट चल्ने चार पाङ्ग्रे सवारीसाधनको सुरुवाती भाडा ६० रुपैयाँ र त्यसपछि प्रति किलोमिटर ४८.५ रुपैयाँ कायम गरिइएको छ । २ किलोमिटरसम्मको आधार भाडा १५६.५ रुपैयाँ छ ।

आधार भाडा सुरुवाती र २ किलोमिटरसम्मको दुरीका लागि तोकिएको छ । यो भाडा १५६.५ रुपैयाँ हुन्छ । तोकिएको भाडामा पेट्रोलबाट चल्ने सवारीमा १० र विद्युतीय सवारीमा १५ प्रतिशत छुट दिनुपर्ने बाध्यकारी व्यवस्था छ । चारपांग्रेमा २ किलोमिटरसम्म आधार भाडा नै लाग्नेछ र त्यसपछि थप दूरीको लागि भाडा बढ्दै जानेछ ।

दुई पांग्रे सवारीसाधनको सुरुवाती भाडा ३० रुपैयाँ तोकिएको छ । यो रकम सुरुवाती यात्रा दूरीका लागि प्रयोग हुनेछ भने त्यसपछि प्रति किलोमिटर १६.८५ रुपैयाँ कायम गरिएको छ । आधार भाडा १ किमीसम्म प्रयोग हुनेछ ।

यसका लागि ४६.८५ रुपैयाँ लाग्नेछ । दुईपांग्रेले पनि पेट्रोलबाट चल्ने सवारीमा १० र विद्युतीय सवारीमा १५ प्रतिशत छुट दिनुपर्ने भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । सरकारले तोकेको भाडा र छुट राइड सेयरिङ एपमा अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ ।

Exit mobile version