फिर्के संरक्षण अभियानको दोस्रो दिनः आजमात्रै ३१ संरचना हटाइए

पोखरा महानगरपालिकाले सञ्चालन गरेको फिर्केखोलाको खोलाघर खाली गर्ने अभियानको दोस्रो दिन साना ठुला गरी ३१ वटा संरचनाहरू हटाइएको छ ।

यससँगै दोस्रो दिनसम्म आइपुग्दा फिर्केखोलाको खोला घरबाट कुल ५१ वटा संरचनाहरू हटाइएको छ ।

अभियानका क्रममा पोखरा महानगरपालिका वडा नम्बर १८ र २ को सिमाना क्षेत्रमा ६ वटा संरचनाहरू हटाइएको छ । त्यसैगरी वडा नम्बर ४ र ५ को क्षेत्रमा ६ वटा पक्की र ३ वटा कच्ची संरचनाहरू भत्काइएको छ ।

पहिलो दिन भत्काउन बाँकी रहेको पोखरा ८ मा रहेको राधाकृष्ण सामुदायिक भवनलाई दोस्रो दिन पूर्ण रूपमा हटाइएको छ । उक्त क्षेत्रमा रहेका अन्य ६ वटा पक्की र ९ वटा कच्ची संरचना समेत हटाइएको छ ।


खोला घर खाली गर्ने कार्यका लागि महानगरले ३ वटा जेसिबी र २ वटा एक्स्काभेटर प्रयोग गरिरहेको छ । अभियानलाई प्रभावकारी बनाउन कार्यक्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, महानगर प्रहरी बल र प्राविधिक कर्मचारीहरू खटिएका छन् ।

फिर्केखोलाको खोला घर खाली गरिसकेपछि त्यसलाई एक आकर्षक पर्यटन गन्तव्यका रूपमा विकास गरिने नगर प्रमुख धनराज आचार्यले बताए ।

साइकल लेन, फुटपाथ, हरियाली प्रवर्द्धन र लाइटिङ सहितको सुरक्षित पर्यटनका रूपमा फिर्केको विकास गरिने उनले जानकारी दिए ।

Exit mobile version