मंगलबारको बिहान पोखराको फिर्के खोलाको किनारै किनार संरक्षणकर्मी र पत्रकारको समूहले वस्तुस्थितिको अवलोकन गरेका छन् ।
फिर्केखोला कोरिडोर निर्माण अभियानअन्तर्गत खोलाघर खाली गर्ने कार्य बीचमै रोकिएपछि चिन्तित भएका अभियन्ता एवं संरक्षणकर्मी रामबहादुर पौडेलले पोखराका पत्रकारलाई अपील गर्दै अवलोकनाका लागि निम्त्याएका हुन् ।
फिर्केको ‘खोलाघर’ खाली गर्ने अभियान पूर्णता नपाउँदै स्थगित भएकोमा वातावरण संरक्षणका लागि महाअभियानका संयोजकसमेत रहेका पौडेलले पत्रकारलाई वास्तविकतामात्रै देखाएनन् अतिक्रमणकारीसँग सवाल जवाफमा पनि उत्रिए ।
जैविक विविधता र पर्यावरणीय सन्तुलनका दृष्टिकोणले महत्वपूर्ण मानिएको करिब ८ किलोमिटर लम्बाइको फिर्केखोलाको अतिक्रमण गर्न अशोक पालिखेसमेत लागिपरेको उनले सुनाए ।
‘फिर्केको चट्टानमाथि पर्खाल लगाएर अशोक पालिखेले हाल साविकको प्रयास गरेकाबेला हामीले रोकेका हौं’ पौडेलले भने ‘खोलाघर मिच्नेमा वडाध्यक्षका भिनाजुसमेत रहेका छन् ।’
फेवातालदेखि सराङकोटको फेदी अँधेरीकुनासम्म करिडोर, पैदल मार्ग तथा साइकल लेन निर्माणको परिकल्पनासँगै दबाबमूलक अभियान चल्दै आएको पनि उनले स्मरण गराए ।
‘जुन उद्देश्य र उत्साहका साथ प्रारम्भिक चरणमा डोजर अभियान सञ्चालनमा आएको थियो, त्यसको केही दिन लगत्तै क्रमशः सेलाउँदै गई स्थगित हुनु फिर्केखोला करिडोर अभियान असफल बनाउनु हो’ पौडेल भन्छन् ‘खोलाघरमा निर्मित संरचना पूर्ण रुपमा हटाउनुपर्नेमा केही वडामा पर्खाल र गौंडा समेत हटाउन नसक्नु जनप्रतिनिधिहरुको निरीहता हो ।’
पोखराको वडा ४, ५, ७ र ८ मा फिर्के खोलाघरमाथि बढी अतिक्रमण भएको बताउँदै पौडेलले जुन उद्देश्य र उत्साहका साथ प्रारम्भिक चरणमा डोजर अभियान सञ्चालनमा आएको थियो, त्यसको केही दिन लगत्तै स्थगित गरिएकोमा आपत्ति जनाए ।
यसैक्रममा पौडेल संयोजक रहेको महाअभियानले खोलाघर आंशिक वा पूर्ण रुपमा खाली नगरिएका वडाहरुको सूची समेत सार्वजनिक गरेको छ । जसअनुसार वडा नम्बर ४ को पर्स्याङस्थित राजमार्ग पुलदेखि पश्चिम तर्फको खोलाघरमा निर्मित सुकुम्बासी टहरा, जुन ठाउँमा खोलामाथि रिटेनिङ पर्खाल समेत ४ नम्बर वडा कार्यालयले निर्माण गरिदिएको उल्लेख छ ।
त्यस्तै पर्स्याङ पुलदेखि पूर्वतर्फ ४ नम्बर वडा कार्यालय जोड्ने सडकको मुखैमा रहेको रातो घर लगायत भयँरथान सम्मको खोलाघरमा पक्की संरचनाहरु पूर्ण रुपमा नहटाइएको र साबिकको स्काउट कम्पाउण्ड देखि १०० मिटर उत्तर भयँरथान तर्फको खोलामा उठाइएका पक्की घरहरु अझै कायम रहेको बताइएको छ ।
यसैगरी वडा नम्बर ५ मा साबिकको स्काउट कम्पाउण्ड देखि १०० मिटर उत्तरका भवन, दक्षिणतर्फको संरचना, रेडियो नेपाल देखि दक्षिणतर्फ रिठेगौंडाका खोलाघरमा निर्मित संरचनाहरु नहटाइएको महाअभियानले जनाएको छ ।
जिल्ला रेडक्रस जोड्ने पुलदेखि १० मिटर दक्षिणतर्फका दुईवटा भवन पनि यथावत रहेको र सुरुमा खोला बग्ने ठाउँमा पक्की रिटेनिङ पर्खाल निर्माण गरेपछि भवन ठड्याइएको भए तापनि भौगोलिक अवस्था हेरेपछि सरोकारवाला निकायसँग मिलेमतो भएको उल्लेख छ ।
पोखरा इन्जिनियरिङ कलेजको भवनदेखि उत्तर पश्चिमका ४-५ वटा भवन पनि पूर्ण रुपमा खाली नगरिएको उनले बताए ।
वडा नम्बर ८ मा बगाले टोल सामुदायिक भवन (किरियापुत्री भवन), सोंपाल तमु समाज, रेडियो नेपाल देखि पूर्वपट्टिको खोलापारिको संरचना, सशस्त्र प्रहरी बल कालिका गणदेखि पूर्वपट्टिका मगर समाज घर लगायतका अन्य संरचनाहरु नहटाइएको बताइएको छ ।
बराल समाजघर लगायत खोलाघरमा पर्ने उत्तरपट्टिका ३र४ वटा घरहरु, राधाकृष्ण मन्दिर देखि १०० मिटर दक्षिणका खानेपानी ट्यांकी नजिकका २-३ वटा घर, पोखरा इन्जिनियरिङ कलेज, गहेतेस्थित खोलापारिको नीलो टहरा र लिटिल स्टेप स्कुलको दक्षिणपट्टिको संरचना समेत पूर्ण रुपमा नहटाइएको महाअभियानले जनाएको छ ।
यस्तै वडा नम्बर ७ मा मासबार-रत्नचोक जोड्ने पुलदेखि उत्तर पूर्व खोलाघरमा पर्ने झण्डै १५ फिट लामो पर्खाल, गहेतेस्थित खोलाघरमा पर्ने लिटिल स्टेप स्कुल देखि उत्तरतर्फको केही संरचना र मालपोत नजिकैको कुखुरा घर समेत हालसम्म नहटाइएको भन्दै महाअभियानले आफ्नो गम्भीर ध्यानाकर्षण गराएको छ ।
