भारतको नयाँदिल्लीस्थित नेपाली राजदूतावासले भारतीय सोसल मिडिया इन्फ्लुएन्सर, ट्राभल भ्लगर र पोडकास्टरहरूलाई नेपालको परिचयात्मक भ्रमणमा आमन्त्रण गरेको छ ।
दुतावासले आज सार्वजनिक सूचना जारी गर्दै ५ जना भारतीय डिजिटल क्रिएटर छनोट गरी नेपाल भ्रमण गराउने बताएको हो ।
यो कार्यक्रम नेपालको पर्यटनलाई भारतीय बजारमा थप प्रबद्र्धन गर्न र दुई देशबीचको जनस्तरको सम्बन्धलाई मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको बताइएको छ ।
यसबाट नेपालको हिमाली सौन्दर्य, प्राकृतिक सम्पदा, सांस्कृतिक विविधता र आध्यात्मिक स्थलहरूको प्रचारप्रचार हुने विश्वास लिइएको छ ।
छनोट भएका क्रिएटरहरूले नेपाल भ्रमणका क्रममा युट्यूव, इन्स्टा, रिल्स, सर्ट्स, पडकास्ट लगायत अन्य डिजिटल सामग्रीहरु तयार पार्ने र आफ्ना लाखौं फलोअर्सलाई नेपाल घुम्न प्रेरित गर्ने सोच दुतावासले लिएको छ ।
भारतमा सक्रिय र राम्रो फलोइङ भएको क्रिएटरहरू, जसले यात्रा, संस्कृति, जीवनशैली, खाना वा एडभेन्चरसम्बन्धी कन्टेन्ट बनाउँछन्, उनीहरूले आवेदन दिन सक्नेछन् ।
आवेदन दिनका लागि आफ्नो सोसल मिडिया लिंक, फलोअर्स विवरण, पुराना कामका नमुना र नेपाल भ्रमणप्रतिको रुचि उल्लेख गरी ३० मे २०२६ भित्र इमेल गर्नुपर्ने सूचनामा उल्लेख छ ।
नेपालको पर्यटन मन्त्रालय र पर्यटन बोर्डसँगको समन्वयमा आयोजित यो कार्यक्रमलाई दूतावासले नेपाल–भारत पर्यटन सम्बन्धको नयाँ पहलको रूपमा हेरेको छ ।
नेपाली राजदूतावास, नयाँ दिल्लीले यो कार्यक्रमबाट धेरै भारतीय पर्यटक नेपाल आउने अपेक्षा गरेको छ ।







