पोखराको लिचीबारी जग्गा भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्तालाई सर्वोच्च अदालतले ५० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले गुप्तालाई ५० लाख नगद, सो बराबरको बैंक ग्यारेन्टी वा जेथा जमानत बुझाएर मुद्दाको पुर्पक्ष गर्न पाउने निर्णय गरेको हो ।
यसअघि विशेष अदालतले उनलाई थुनामा राख्ने आदेश दिएको थियो, जसअनुसार उनी डिल्लीबजार कारागारमा थुनामा रहेका थिए ।
सर्वोच्चको पछिल्लो आदेशसँगै उनी धरौटी बुझाएर मुद्दा प्रक्रियामा सहभागी हुन सक्ने भएका छन् ।
इजलासले बुधबार धरौटी आदेशबारे सम्बन्धित पक्षलाई जानकारी गराएको बताइएको छ ।
यसै प्रकरणमा जोडिएकी पूर्वमन्त्री रन्जिता श्रेष्ठ सम्बन्धी मुद्दामा भने विशेष अदालतको अघिल्लो आदेशलाई सर्वोच्चले सदर गरेको छ ।







