पोखराबाट पहिलो पटक अन्तर्राष्ट्रिय एयर एम्बुलेन्स मार्फत बिरामीको सफल उद्धार गरेर इतिहास रचेको चरक मेमोरियल अस्पतालको दाबी छ ।
चरकले एयर एम्बुलेन्स सेवामा फड्को मारेको भन्दै नेपालको इतिहासमा यो नै पहिलो अन्तर्राष्ट्रिय एयर एम्बुलेन्स सेवा भएको जनाएको छ । यसक्रममा चरकले श्री एयरलाइन्स छनौट गरेको थियो ।
अस्पतालको विशेष टोलीले मंगलबार अत्यन्तै जटिल अवस्थाका एक बिरामीलाई पोखराबाट सिधै भारतसम्म ‘एयर लिफ्ट’ गरी सफलतापूर्वक स्थानान्तरण गरेको हो ।
मुक्तिनाथ भ्रमणका दौरान भारतीय नागरिक शम्भु दयाल श्रीवास्तवलाई थप उपचारका लागि विशेष चार्टर उडानमार्फत भारत पठाइएको थियो ।
चरकका अनुसार दयाल मुटुको गम्भीर समस्या र फोक्सोको कडा संक्रमणबाट ग्रसित थिए। बिरामीको अवस्था अत्यन्तै नाजुक रहेकाले उनलाई ‘इनोट्रोपिक सपोर्ट’सहित मेकानिकल भेन्टिलेटरमा राखेर चिकित्सकको प्रत्यक्ष निगरानीमा भारत लगिएको हो।
यस उद्धार कार्यमा चरकका इन्टेन्सिभिस्ट डा. राजन बस्नेत, मेडिकल अफिसर डा. सुरज अर्याल र नर्स पिंकी श्रेष्ठ रहेका थिए ।







