दिवंगत पति सम्झँदै विद्या लेख्छिन् -‘मदनले एमालेलाई भरोसायोग्य बनाए’

दिवंगत पति मदन भण्डारीलाई सम्झँदै पूर्वराष्ट्रपति विद्यादेवि भण्डारीले जनताको बहुदलीय जनवाद अझै नेपाली राजनीतिमा आवश्यक भएको औंल्याएकी छिन् ।

मदन भण्डारी र जीवराज आश्रितको ३३ वर्षअघि चितवनको दासढुंगामा जीप दुर्घटनामा परि मृत्यु भएको थियो ।

उनीहरुको मृत्युको कारण पटकपटक सत्तामा पुगेपनि न नेकपा एमाले न त पत्नी भण्डारीले नै वास्तविक उजागर गर्न सके । यद्यपि, पत्नी भण्डारीले मदनको योगदान र जबजको औंचित्य भने पुनः सम्झेकी छिन् ।

भण्डारीले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्ः
‘आज जेठ ३ गते, नेपाली कम्युनिष्ट आन्दोलनका नवीन विचारक, मुलुकको सामाजिक–आर्थिक रूपान्तरणको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद ‘जबज’का प्रणेता तथा प्रखर राष्ट्रवादी जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितको ३३औँ स्मृति दिवसका अवसरमा उहाँहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

मदन–आश्रितले कम्युनिष्ट आन्दोलनप्रति जनताको अपार माया, विश्वास र समर्थन जुटाउँदै आन्दोलनलाई सफलताको सिँढी चढाउन अभूतपूर्व योगदान गर्नुभएको थियो । जननेता मदन भण्डारीद्वारा प्रवर्तित ‘जनताको बहुदलीय जनवाद (जबज)’ले लोकतान्त्रिक माध्यममार्फत मुलुकमा सामाजिक न्याय, समृद्धि र रूपान्तरणको मार्गदर्शन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)लाई जनताको भरोसायोग्य राजनीतिक शक्तिका रूपमा स्थापित गर्न ऐतिहासिक भूमिका निर्वाह गरेको छ ।

विगतका उपलब्धिहरूसँगै वर्तमानका अवसर र चुनौतीलाई ध्यानमा राख्दै हामी अझ जिम्मेवार र संवेदनशील बन्न आवश्यक छ । अहिले देखिएका चुनौतीहरूको सामना गर्नेका लागि महत्वपूर्ण शर्त भनेको सुदृढ सांगठानिक एकता, नेता–कार्यकर्ताको सक्रियता, त्याग र समर्पण अपरिहार्य छन् ।

साथै जनअपेक्षा, सुधारप्रतिको चाहनालाई ध्यानमा राख्दै पार्टी र जनता बिचको सम्बन्धलाई थप मजबुत बनाउन आवश्यक छ । यसैगरी, सिद्धान्त र व्यवहार बिच तालमेल मिलाउँदै जनविश्वास आर्जन गर्न निरन्तर प्रयास गर्नु पर्दछ । जनताको विश्वास नै कुनै पनि राजनीतिक शक्तिको सबैभन्दा ठूलो शक्ति हो भन्ने सत्यलाई आत्मसात् गर्दै यसलाई अझ मजबुत बनाउनु पर्दछ ।

जननेता मदन भण्डारीले देखाउनुभएको जनमुखी राजनीति, वैचारिक स्पष्टता, राष्ट्रिय स्वाभिमान र लोकतान्त्रिक प्रतिबद्धताको मार्ग आज पनि उत्तिकै सान्दर्भिक छ । मदन–आश्रित स्मृति दिवशले हामीलाई लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि अझ जिम्मेवार भएर अघि बढ्न प्रेरणा प्रदान गरोस् ।’

Scroll to Top