बिजुली र पानी उपभोगमा गण्डकीको पहुँच देशभरमै उच्च

गण्डकीवासीहरुले देशभरकै तुलनामा विद्युत र खानेपानीको उच्च उपभोग गर्न पाएको तथ्यांकले देखाएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको ‘नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२’ को नतिजा अनुसार अन्य प्रदेशको तुलनामा गण्डकीवासीले उपभोग गर्न पाएको विद्युत र खानेपानीको पहुँच सबैभन्दा बढी हो ।

गण्डकी प्रदेश बिजुलीको पहुँचमा पनि शतप्रतिशतको नजिक पुगेको छ । यहाँका ९९.५ प्रतिशत घरधुरीमा विद्युत सेवा पुगेको छ, जुन देशकै सबैभन्दा उच्च पहुँच हो । देशभरको औसत हेर्दा ९६.७ प्रतिशत परिवारमा मात्र बिजुली पुगेको छ भने कर्णाली प्रदेशमा सबैभन्दा कम ८०.८ प्रतिशत पहुँच छ ।

नेपालका ९८.२ प्रतिशत सहरी घरधुरीमा र ९३.७ प्रतिशत ग्रामीण घरधुरीमा बिजुलीको पहुँच रहेको तथ्यांकले देखाएको छ । यस्तै गण्डकीका ९६.६ प्रतिशत परिवारमा टेलिफोन वा मोबाइलको पहुँच पुगेको छ ।

खानेपानीको क्षेत्रमा पनि गण्डकीको अवस्था राम्रो छ । नेपालका ९८.२ प्रतिशत जनसंख्याले सुधारिएको खानेपानी स्रोत प्रयोग गर्दा गण्डकीमा यो दर ९८.६ प्रतिशत छ ।

प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले भरपर्दो तथ्यांकले महिला र बालबालिकाको समावेशी विकासमा सहयोग पुग्ने बताइन् । यो सर्वेक्षण दिगो विकास लक्ष्यको अनुगमन र प्रदेशको नीति निर्माणका लागि मुख्य आधार बनेको उनले उल्लेख गरिन् ।

राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी डा. कमलप्रसाद पोखरेलले बहुसूचक सर्वेक्षणले सबै तहका सरकारलाई योजना बनाउन र बहुआयामिक गरिबी मापन गर्न सघाउने दाबी गरे ।

देशभरका ५ सय ४० गणना क्षेत्रका १२ हजार ९६० परिवार छानेर यो सर्वेक्षण गरिएको उनले बताए । यस क्रममा महिला, पुरुष, बालबालिका र किशोरकिशोरीको स्वास्थ्य, शिक्षा, पोषण, मानसिक स्वास्थ्य र खानेपानीको गुणस्तर सम्बन्धी विवरण संकलन गरिएको थियो ।

Scroll to Top