पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले मुटु रोग उपचारको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ।
अस्पतालको मुटु रोग विभागले एकैदिन सात जना बिरामीको सफल ‘एन्जियोप्लाष्टी’ गरि नयाँ रेकर्ड कायम गरेको हो।
यस जटिल उपचार प्रक्रियाको क्रममा एक विशेष र दुर्लभ संयोग समेत देखिएको थियो। एकै परिवारका आमा र छोरा, जसलाई एकै समयमा हृदयघात (हार्ट अट्याक) भएको थियो, उनीहरूको पनि सोही दिन सफलतापूर्वक एन्जियोप्लाष्टी सम्पन्न भएको छ।
गम्भीर अवस्थामा अस्पताल पुगेका आमा-छोरा दुवैको सफल उपचारपछि उनीहरूको जीवन रक्षा भएको अस्पतालले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ।
स्वास्थ्य सेवामा अत्यन्तै संवेदनशील र जटिल मानिने मुटुको शल्यक्रिया (क्याथल्याब सेवा)मार्फत एकैदिन यति धेरै बिरामीको उपचार हुनुलाई पोखराको स्वास्थ्य क्षेत्रमा ठूलो सफलताका रूपमा हेरिएको छ।
मानव जीवन रक्षाको यस चुनौतीपूर्ण कार्यमा अहोरात्र खटिएका मुटुरोग विशेषज्ञ चिकित्सकहरू डा. मनोज कोइराला र डा. विश्व बरालको नेतृत्व रहेको अस्पतालले जनाएको छ ।







