डेन्टल, आयूर्वेदिक, पोलिक्लिनिकलाई ‘रिन्यू’ गर्न निर्देशन

गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले प्रदेशभित्र संचालनमा रहेका स्वास्थ्य संस्थाहरूलाई आगामी साउन मसान्तभित्र नवीकरण गरिसक्न निर्देशन दिएको छ ।

मन्त्रालयले एक सूचना जारी गर्दै ‘गण्डकी प्रदेश जनस्वास्थ्य सेवा ऐन, २०७९’ को व्यवस्थाअनुसार स्वास्थ्य संस्थाहरूलाई नवीकरण प्रक्रिया पूरा गर्न आह्वान गरेको छ ।

विसं २०८३ वैशाख ४ गते प्रदेश राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आएको उक्त ऐनको दफा १३ को उपदफा ६ मा हाल संचालनमा रहेका र नवीकरण नभएका स्वास्थ्य संस्थाहरूले ऐन जारी भएको ६ महिनाभित्र साबिक बमोजिमको नवीकरण दस्तुर एकमुष्ठ बुझाई संचालन अनुमति लिनुपर्ने व्यवस्था गरेको छ ।

सोही प्रावधानअनुसार हालसम्म रितपूर्वक निवेदन दर्ता नगरेका स्वास्थ्य संस्थाहरूले विसं २०८३ साल साउन मसान्तभित्र तोकिएको निकायमा निवेदन पेश गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार स्वास्थ्य संस्थाको प्रकृति हेरेर छुट्टाछुट्टै निकायमा निवेदन दिनुपर्नेछ । डेन्टल क्लिनिक, आँखा उपचार केन्द्र, विशेषज्ञ क्लिनिक, पोलिक्लिनिक र २५ शैयासम्मका निजी, सामुदायिक एवं सहकारी अस्पतालहरूले कास्की जिल्लाको हकमा प्रादेशिक जनस्वास्थ्य केन्द्र, पोखरामा निवेदन दिनुपर्ने बताए ।

अन्य जिल्लाको हकमा भने सम्बन्धित जिल्लास्थित प्रदेश जनस्वास्थ्य कार्यालयमा निवेदन दिनुपर्ने जानकारी दिए ।

यसैगरी आयुर्वेद पोलिक्लिनिकहरूले सम्बन्धित जिल्लास्थित आयुर्वेद अस्पताल वा प्रदेश आयुर्वेद चिकित्सालयमा निवेदन दिनुपर्नेछ ।

५१ देखि २०० शैयासम्मका निजी, सामुदायिक एवं सहकारी अस्पताल, २५ देखि ५० शैयासम्मका आयुर्वेद अस्पताल तथा २५ शैयासम्मका डायलायसिस र पुनस्र्थापना केन्द्रहरूले भने गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयमा निवेदन पेश गर्नुपर्ने छ ।

निवेदनको ढाँचा लगायतका थप जानकारीका लागि मन्त्रालयको वेबसाइट एमओएच.गण्डकी.गभ.एनपीमा रहेको ‘स्वास्थ्य संस्थाको दर्ता, नवीकरण, अनुगमन तथा नियमन सम्बन्धी मापदण्ड, २०८२’ हेर्न सकिने मन्त्रालयले बताए ।


Scroll to Top