व्यवसायीहरूको मागपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कम्पनी ऐन, २०६३ बमोजिम लाग्ने कर, शुल्क, दस्तुर, ब्याज तथा जरिवाना मिनाहासम्बन्धी व्यवस्था गरेको छ ।
मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार, कम्पनी ऐनबमोजिम दर्ता भएका तर समयमै विवरण पेस नगरेका, नवीकरण नगरेका वा दाखिला गर्नुपर्ने कर, शुल्क, दस्तुर, ब्याज तथा जरिवाना बुझाउन बाँकी रहेका कम्पनीले यस सुविधाको लाभ लिन सक्नेछन् ।
व्यवस्थाअनुसार आर्थिक वर्ष २०८२/८३ को कानुनबमोजिम लाग्ने कर, शुल्क तथा दस्तुर बुझाउनुका साथै आवश्यक विवरण २०८३ पुस मसान्तभित्र पेस गर्नुपर्नेछ । तोकिएको समयभित्र विवरण पेस गरेमा त्यसअघिका सम्पूर्ण कर, शुल्क, दस्तुर, ब्याज तथा जरिवाना मिनाहा हुने मन्त्रालयले जनाएको छ ।
व्यवसाय सञ्चालनका क्रममा विभिन्न कारणले कम्पनीको विवरण अद्यावधिक गर्न नसकेका तथा समयमै कानुनी प्रक्रिया पूरा गर्न नसकेका कम्पनीलाई लक्षित गरी यो व्यवस्था गरिएको हो ।
मन्त्रालयको यस निर्णयले लामो समयदेखि विवरण पेस नगरेका कम्पनीलाई कानुनी प्रक्रियामा आउन र अभिलेख अद्यावधिक गर्न सहज हुने अपेक्षा गरिएको छ ।
यसअघि कम्पनीको विवरण पेस गर्ने म्याद २०८३ असोज मसान्तसम्म रहेको थियो । मन्त्रालयले उक्त समयसीमा बढाएर पुस मसान्तसम्म पुर्याएको हो ।
सम्बन्धित कम्पनीले २०८३ पुस मसान्तभित्र आवश्यक प्रक्रिया पूरा गरी यस सुविधाको लाभ लिन सक्नेछन् ।







