‘ओन्डाट्रोन–४’ बजारबाट तत्काल फिर्ता लैजान जनता फर्मालाई निर्देशन

औषधि व्यवस्था विभागले गुणस्तर मापदण्ड नपुगेको भन्दै ओन्डाट्रोन–४ नामक औषधि बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ ।

विभागद्वारा जारी अत्यन्त जरुरी सूचनाअनुसार बजार अनुगमनका क्रममा संकलन गरिएको उक्त औषधिको नमुना परीक्षण गर्दा तोकिएको मापदण्डअनुसार गुणस्तर नपुगेको पाइएको हो । राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको परीक्षणमा ‘आईपी २०२२ अनुसार परिमाण परीक्षणमा अनुपयुक्त’ देखिएको उल्लेख गरिएको छ ।

विभागका अनुसार ओन्डाट्रोन–४ (ओन्डान्सेट्रोन हाइड्रोक्लोराइड ४ मिलिग्राम)को ब्याच नम्बर ओएनडीटी २९०१ रहेको छ । उक्त औषधिको उत्पादन मिति अगस्ट २०२५ र म्याद सकिने मिति जुलाई २०२७ रहेको छ ।

यो औषधि देउराली–जनता फार्मास्युटिकल्स प्रालिद्वारा उत्पादन गरिएको हो । विभागले सम्बन्धित उद्योग तथा वितरकलाई तत्काल बजारबाट औषधि फिर्ता लिन र सोको विवरण विभागमा पेश गर्न निर्देशन दिएको छ ।

उक्त ब्याचको औषधि बिक्री, वितरण तथा प्रयोग नगर्न र नगराउन सबै सरोकारवालालाई आग्रह गरिएको छ ।

Scroll to Top