प्रधानमन्त्री बालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउने निर्णय कुनै पनि हालतमा कार्यान्वयन गर्न उपकुलपतिहरूलाई आज निर्देशन दिएका छन् ।
छलफलका क्रममा उपकुलपतिहरुले जेन्जी आन्दोलन र चुनावपछि विद्यार्थीले राजनीतिक गतिविधि सुस्त भएको र यस्ता संगठन हटाउन पहल भइरहेको बताएका छन् ।
प्रधानमन्त्रीको प्रेस हेर्ने जिम्मेवारी पाएकी विशेषज्ञ दीपा दाहालले दिएको जानकारी अनुसार उपकूलपतिहरुलाई कुनैपनि हालतमा विद्यार्थी र कर्मचारीका संगठन हटाउन निर्देशन दिइएको हो ।
प्रधानमन्त्री शाहले अस्पताल, क्याम्पस र विद्यालयजस्ता पवित्र ठाउँमा कुनै पनि दलको झण्डा, प्रभाव वा संगठन राख्न नदिइने बताउँदै राजनीति नै गर्ने भए पेसागत जिम्मेवारीबाट अलग भएर पूर्ण रूपमा राजनीतिमा लाग्न सुझाव दिएका दाहालले बताइन् ।
छलफलमा ११ विश्वविद्यालय र सात वटा प्रतिष्ठानका उपकुलपतिहरू सहभागी थिए ।







