गृहमन्त्री गुरुङको संस्था ‘हामी नेपाल’ इन्टरनेटबाट गायब

गृहमन्त्री सुधन गुरुङमाथि पछिल्लो समय शेयरमा देखिएको लगानीको सोतबारे प्रश्न उठेपछि उनी विवादमा फँसेका छन् ।

मुलतः हामी नेपाल संस्थामा कहाँबाट, कसले सहयोग गरेको हो भन्ने सवाल उठिरहँदा एकाएक गृहमन्त्री गुरुङद्वारा स्थापित एवं संरक्षकत्व प्राप्त उक्त संस्थाको वेबसाइट गायब भएको छ । यस विषयमा उनले हाल निर्माणमा रहेको भिडिओ सन्देश दिएका थिए ।

तर हामी नेपालको वेबसाइट बन्द हुनुको कारण भने उनको संस्थामा आउने सहयोग र स्रोत हो भन्ने यकिन गर्र्न सकिन्छ । यद्यपि मन्त्री गुरुङले विदेशी संस्थाबाट १ डलर पनि सहयोग नलिएको दाबी गर्दै आएका छन् ।

haminepal.org ठेगानामा रहेको उक्त वेबसाइट नखुल्ने भएपछि यसको कारणलाई लिएर सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी सुरु भएको छ।

२०७२ सालको विनाशकारी भूकम्पपछि युवाहरूको सक्रियतामा सुरु भई २०७८ साल औपचारिक रूपमा दर्ता भएको यो संस्थाले सामाजिक सेवा र युवा अभियानमा आफूलाई केन्द्रित गर्दै आएको थियो ।

संस्थाका मुख्य अभियन्ता र संस्थापक स्वयं बहालवाला गृहमन्त्री रहेका कारण पनि यसको डिजिटल उपस्थिति हराउनुलाई सर्वसाधारणले निकै चासोका साथ हेरेका छन्। पछिल्लो समय गृहमन्त्री गुरुङमाथि विभिन्न आर्थिक लेनदेन र व्यावसायिक नैतिकताका विषयमा प्रश्नहरू उठिरहेका छन् ।

यस्तो संवेदनशील समयमा संस्थाका गतिविधि र विवरणहरू समेटिएको वेबसाइट नै हटाइनुले कुनै तथ्य लुकाउन खोजिएको त होइन भन्ने आशंका उब्जाएको छ ।

विगतमा पनि यस संस्थाको आर्थिक पारदर्शिता र वित्तीय विवरणलाई लिएर पटक-पटक सार्वजनिक बहस हुने गरेको थियो। वेबसाइटमा उपलब्ध हुनुपर्ने वार्षिक प्रतिवेदन र सहयोगको पारदर्शी तथ्यांकहरू अहिले पहुँचबाहिर हुँदा आलोचना गर्नेहरूलाई थप बल मिलेको छ ।

Scroll to Top