‘लिटिल बुद्ध’ बम्जन खोरमा, समर्थकहरु पोखरामा

नयाँलिपिः ‘लिटिल बुद्ध’ भनि चर्चामा आएका रामबहादुर बम्जनका अनुयायीहरु आजदेखि ‘शान्तिको सन्देश, विश्वलाई आग्रह’ नारा दिएर पोखरामा भेला भएका छन् ।

बम्जनले स्थापना गरेको बोधि श्रवण धर्म संघको ब्यानरमा भएको कार्यक्रम आगामी २६ गतेसम्म चल्नेछ । जहाँ बम्जनका अनुयायीहरु ‘विश्व शान्ति महामैत्री बोधि मार्ग दर्शन, धर्म आध्यात्मिक पूजापाठ प्रार्थना’मा सहभागी हुनेछन् ।

अनुयायीहरुले प्रार्थनको पूर्वसन्ध्यामा आज पोखरामा शान्ति¥यालीसमेत आयोजना गरे । ¥यालीमा केही विदेशी नागरिकको पनि सहभागिता देखिएको छ । बुधबारदेखि प्रवचनको कार्यक्रम रहेको छ ।

सहभागी अनुयायीहरु गुरु बम्जनले प्रवचन दिने बताइरहेका छन् । अधिकांश अनुयायी गुरु कतिबेला, कहाँबाट प्रकट हुनुहुन्छ, थाहै पाउन नसकिने बताउँछन् । केहीले भने भोलीदेखि सुरु हुने प्रवचनमा अपरान्हदेखि गुरु बम्जनले प्रवचन दिने बताइरहेका छन् ।

यस विषयमा उनीहरुलाई खासै नबोल्ने निर्देशन दिइएको छ । धर्म संघका मुख्य पदाधिकारीहरु पनि सम्वाददातासँग बम्जनले नै प्रवचन दिने अड्डी कसिरहेका थिए ।

‘हाम्रो लिटिल बुद्ध गुरुलाई त पुलिसले समातेको होइन र? भनि जिज्ञासा राखेपछि बल्ल उनीहरुले गुरुबाटै दीक्षित चेलाहरु ‘सर्वज्ञ परमगुरु’ले प्रवचन दिने बताए ।

यद्यपि, अधिकांश सहभागी भने स्वयं बम्जन गुरुले नै भोलिदेखि प्रवचन दिनेमा विश्वस्त छन् । धर्मसंघका एक मुख्य पदाधिकारीका अनुसार बम्जनमाथि आरोप लगाइएको हो । उनी भन्छन् ‘फैसला भइसक्यो, उहाँ चोखिइसक्नुभयो । हाम्रो विश्वास यही हो, अरुले कसरी बुझ्छन्, त्यो उनीहरुको कुरो हो ।’

आयोजनास्थल पोखरा प्रदर्शनी केन्द्रमा पत्रकारमाथि आज रोक लगाइएको छ । संघका सदस्य, अनुयायीलाई पनि बाहिर घुमघाममा निस्कन बन्देज छ । अनुयायीहरु जहाँबाट आएका छन् उनीहरुलाई आफैै खानाको व्यवस्था गर्न भनिएको छ भने नसक्नेलाई भित्रै मेसमा व्यवस्था गरिएको छ । प्रदर्शनी केन्द्रभित्रै पालमा सुत्ने मेसो मिलाइएको छ ।

अनुयायीहरु प्रवचन सुन्न पोखरामा भेला भएपनि गुरु भनिएका बम्जन भने थुनामा छन् । बम्जनलाईे वर्षदिन अघि आजैको दिन केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो । ब्यूरोको टोलीले उनलाई काठमाण्डौंबाट पक्राउ गरेको थियो ।

बम्जनमाथि सर्लाही, नुवाकोट र मकवानपुरका केही स्थानीयलाई बेपत्ता र सर्लाहीको आश्रममा बलात्कारको उजुरी छ । ब्यूरोका प्रहरी उपरीक्षक एवं प्रवक्ता हविन्द्र बोगटीले अदालतको आदेशपछि बम्जन पुर्पक्षकालागि थुनामै रहेको बताए ।

‘केही मुद्दा अदालती प्रक्रियामै छन् भने केही आरोपमा प्रहरी अनुसन्धान जारी छ, बम्जन पुर्पक्षमा थुनामै छन्’ बोगटीले भने ।

पोखरा महानगरपालिकाको अधिकारक्षेत्रमा पर्ने प्रदर्शनी केन्द्रमा सुरु भएको कार्यक्रमलाई महानगरले स्वीकृति दिए, नदिएको थाहा हुन सकेन । यस विषयमा प्रश्न गर्दा महानगर प्रवक्ता मोतिलाल तिम्सिनाले बुझेर खबर गर्ने प्रतिक्रिया दिए ।

जिल्ला प्रशासन कार्यालय, कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले महानगरबाट प्रदर्शनी केन्द्रमा ड्रोन उडाउन अनुमति मागिएको तर नदिइएको जनाएका छन् ।

पूजा एवं प्रवचनमा देशैभरबाट करिब २ हजार जना सहभागी रहेको आयोजकको दाबी छ । प्रदर्शनीस्थलमा पार्किङ गरिएका सवारीसाधनको संख्याले पनि त्यसको पुष्टि गर्छ ।

को हुन् रामबहादुर बम्जन ?

बमजन आबद्ध धार्मिक संस्थाको वेबसाइट मैत्रीय डट इन्फोमा उपलब्ध जानकारी अनुसार उनको जन्म सन् १९९०को एप्रिल १० तारिखमा रतनपुर बारामा भएको थियो। उनका मातापिता किसान थिए। उनकी आमाको १२ वर्षको उमेरमा विवाह भएको थियो। उनका ५ छोरा र ४ छोरी छन्। रामबहादुर तेस्रो छोरा हुन्।

उनी गर्भमा हुँदा उनकी आमालाई माछा मासु खान मन लागेको थिएन र पछि बमजनले पनि मासु खाएनन्। उनी सानो उमेरदेखि नै लामो समयसम्म घर बाहिर जाने गर्दथे

उनले कलिलो उमेरमै ध्यानमा मग्न भएर सबैलाई आश्चर्यचकित बनाएको बताइन्छ।

सन् २००५ मा बीबीसीसँगको कुराकानीमा उनका परिवार, साथीभाइ र अनुयायीले बमजन ६ महिनासम्म पानी समेत नपिएर ध्यानमा लीन भइसकेको र बुद्धत्व प्राप्त नहुँदा सम्म उनी ध्यानमै रहने बताएका थिए।

उक्त विवरणका अनुसार गौतम बुद्धको आमाको नाम मायादेवीसँग मिल्न गएको बमजनको आमाको नामका कारण पनि स्थानीयहरूले उनले गरेको तपस्यालाई सिद्धार्थ गौतम बुद्धसँग जोडेर हेरेका थिए।

त्यसो त तपस्या सुरु गर्नु अघि नै उनले आफ्नो परिवारका अन्य सदस्यलाई पशुबली नदिन, माछा मासु र रक्सी सेवन नगर्न आग्रह गर्ने गरेको पारिवारिक श्रोतहरूले बताउने गरेका छन्।

तपस्या गर्ने क्रममा उनी बीचबीचमा हराउने र केही समयपछि फेला पर्ने क्रम चलिनै रह्यो। १६ वर्षको उमेरमा तपस्या गर्न सुरु गरेका बमजन पहिलो पटक १० महिना लामो ध्यान बसेकै बेला अचानक गायब भएका थिए।

तपस्याप्रति उनको लगाव र बुद्धसँगको तुलनाका कारण उनी ध्यान बसेको स्थान आसपास उनलाई हेर्न मात्र आउने आगन्तुक र भक्तजनहरूको भिड लाग्ने गरेको जानकारहरू बताउँछन्।

अनुयायीहरूले बिस्तारै उक्त क्षेत्रलाई लुङ्ता छोर्तेन जस्ता धार्मिक ध्वजा-पताकाले सुसज्जित गरेपछि उक्त स्थान बिस्तारै धार्मिक स्थलमा परिणत हुँदै गयो।

नेपालमा मात्र नभएर विश्वव्यापीरूपमै चर्चा बटुल्न सफल उनको कर्मले यति चर्चा पायो कि उनले निकै कम समयमा सामान्य बुद्धभक्तबाट चर्चित तपस्वीको भेष धारण गरे।
मध्य तराईको बाराको एकान्त बनमा एक ठूलो पीपलको बोट मुनि ध्यान गरिरहेका कलिला रामबहादुर बमजनले सन् २००५ मा एकाएक चर्चा बटुले। १६ वर्षीय बमजनले बारास्थित एक जङ्गलमा ध्यान गर्न सुरु गरेका थिए।

सेतो रङको पातलो कपडा लगाएका उनको शरीर स्थिर थियो। आँखा बन्द थियो। र उनी ध्यानमा लीन थिए। त्यसअघि कसैले नचिन्ने किशोर एकाएक विश्वप्रसिद्ध बन्न पुगे।

सुरुमा आसपासका स्थानीयबासी उनलाई हेर्न बाराको बनमा गए। त्यसपछि अन्य देशका तीर्थयात्री पनि आउन थाले। उनी बनमा ध्यानमा बसेको एउटा तस्बिर सोही वर्ष ‘भाइरल’ हुन गयो। उक्त तस्बिरले नेपालमा मात्र नभएर विश्वका प्रमुख सञ्चारगृहको समेत ध्यान खिच्न सफल भयो।

उनै रामबहादुर बमजन करिब १३ वर्षपछि गत साल चर्चामा रहे । उनी चर्चामा आउनुको कारण उनीमाथि केही व्यक्तिलाई बेपत्ता बनाएको, हत्या र बलात्कार गरेको आरोप हो । सोही आरोपमा बम्जन वर्ष दिनअघि पक्राउ परेका हुन् ।

Exit mobile version