सरकारले बदलिँदो वैश्विक भूराजनीति र छिमेकी शक्तिहरूको उदयलाई विकासको अवसरमा बदल्न सन्तुलित र गतिशील कूटनीति अवलम्बन गर्ने भएको छ ।
मंगलबार सार्वजनिक गरिएको राष्ट्रिय प्रतिबद्धतामा यो विषय उल्लेख छ ।
‘नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितलाई सर्वोपरी राख्दै बदलिँदो वैश्विक भू’राजनीति र छिमेकी शक्तिहरूको उदयलाई नेपालको विकासको अवसरमा बदल्न ‘सन्तुलित र गतिशील कूटनीति’ अवलम्बन गरिनेछ। नेपालका कूटनीतिक नियोगहरूको काम र जिम्मा नियोगको सक्रियता र नतिजा मापन गर्न वैज्ञानिक ‘परफरमेन्स अडिट’ प्रणाली शुरू गरिनेछ,’ प्रतिबद्धता पत्रमा उल्लेख छ ।
भनिएको छ, ‘नेपालको सार्वभौमसत्ता र राष्ट्रिय हितलाई सर्वोपरी राख्दै नेपाललाई ‘बफर स्टेट’बाट ‘भाइब्रेन्ट ब्रिज’को रूपमा रूपान्तरण गरी त्रिपक्षीय आर्थिक साझेदारी र कनेक्टिभिटीका माध्यमबाट राष्ट्रिय हित सुनिश्चित गरी नेपाललाई स्वतन्त्र, तटस्थ र विश्वशान्तिमा आधारित असंलग्न राष्ट्रको रूपमा विश्वमञ्चमा स्थापित गरिनेछ ।’
कुनै पनि सैन्य गठजोठमा नलागी सबैसँग समदूरी र समनिकटताको नीति अवलम्बन गरिने प्रतिबद्धता पत्रमा उल्लेख छ ।
‘कुनै पनि सैन्य गठजोड, हात-हतियारको दौड र युद्धले शान्तिलाई बाधा पुर्याउँदछ भन्ने मान्यतासहित सबैसँग समदूरी र समनिकटताको नीति अवलम्बन गरिनेछ । सम्पूर्ण कूटनीतिको केन्द्रमा ‘नेपाल प्रथमः नेपाली प्रथम’को अवधारणा आत्मसाथ गरिनेछ । आर्थिक कूटनीतिलाई बढावा दिनुका साथै सगरमाथा सम्वादजस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ’, प्रतिबद्धता पत्रमा भनिएको छ ।







