पहुँच र शक्तिको आडमा वर्षौंदेखि सुगम तथा सुविधासम्पन्न अस्पतालहरूमा काज मिलाएर बस्दै आएका विशेषज्ञ चिकित्सकविरुद्ध सरकार कडा रूपमा उत्रिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नवनियुक्त मन्त्री निशा मेहताको नेतृत्वमा यस्तो प्रवृत्तिमाथि अङ्कुश लगाउँदै २१ जना विशेषज्ञ चिकित्सकलाई उनीहरूको मूल दरबन्दीमा फिर्ता पठाएको हो ।
मन्त्रालयका अनुसार मङ्गलवार पहिलो चरणमा १४ जना र बुधवार थप ७ जना गरी कुल २१ जनालाई फिर्ता गरिएको छ ।
सम्बन्धित अस्पतालमै फिर्ता पठाइएकामध्ये डा. चुनु दर्नाल (कन्सल्टेन्ट, ईएनटी सर्जन) र डा प्रमोद कट्टेल (वरिष्ठ कन्सल्टेन्ट, प्रसूति तथा स्त्रीरोग विशेषज्ञ) पनि रहेका छन् ।
दर्नाललाई भरतपुर अस्पतालबाट र डा कट्टेललाई परोपकार प्रसूति अस्पतालबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । यद्यपि, डाक्टरद्वय शुक्रबारसम्म हाजिर भइसकेका छैनन् ।
मन्त्री मेहताले पदभार सम्हालेलगत्तै स्वास्थ्य सेवा प्रणालीको वास्तविक अवस्थाबारे समीक्षा गर्दै ‘जहाँ दरबन्दी, त्यही सेवा’ भन्ने नीतिलाई कडाइका साथ कार्यान्वयन गर्ने निर्णय लिएकी हुन् ।
काजमा बस्ने अधिकांश चिकित्सकहरू दुर्गम क्षेत्रमा खटाइएका भए पनि पहुँचका आधारमा सुगममै बस्दै आएका थिए ।







