प्रधानमन्त्री बालेन्द्र साहले विभिन्न प्रदेशका सांसदहरुलाई भेटी तत्स्थानका गुनासा, समस्या र मागबारे जानकारी लिने क्रम जारी छ ।
यसैबीच, प्रम साहसँग गण्डकी प्रदेशका सांसदहरुले भेटघाट गर्ने कार्यक्रम बाँकी छ । यही मेसोमा कास्की २ का सांसद उत्तमप्रसाद पौडेलले जिल्लावासीसँग भएका समस्या वा मुद्दाहरु जानकारी गराउन सार्वजनिक अपील गरेका छन् ।
सांसद पौडेलले समग्र कास्कीका विषयमा उठाउनु पर्ने माग र मुद्दाबारे गृहकार्य भइसकेको बताउँदै मतदाताबाट समेत थप सुझावको अपेक्षा गरेका छन् ।
उनको अपीलपछि कस्केलीले बसपार्क निर्माण, फेवाताल संरक्षणदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्मका माग गरेका छन् । मूलतः जनताले प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यालयमा सूशासनको अनुभूति हुनुपर्ने सुझाएका छन् ।
यसैक्रममा प्रेम भारद्वाजको आग्रह छ ‘निजी विद्यालयहरूमा काठमाडौंमा जस्तै निश्चित कोटामा छात्रवृतिमा विद्यार्थीहरूले अध्ययन गर्न पाउने व्यवस्था मिलाउन पहल गर्नु होला, माननीयज्यू।’
प्रदिप गिरिले कुनै पनि सरकारी कार्यालयमा हुने बिचौलिया हाबी पूर्णरूपमा बन्द गर्न माग गरेका छन् भने उज्ज्वल कोइरालाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन र पारदर्शितालाई मुख्य एजेन्डा बनाउन अनुरोध गरेका छन् ।
नारायण अधिकारीले फेवाताललाई भूमाफियाबाट जोगाउन आग्रह गरेसँगै कृष्ण आचार्यले मणिपाल अस्पतालमा भ्रष्टाचार भएको भन्दै फाइल खोल्न आग्रह गरेका छन् ।
‘पोखरा भन्ने बित्तिकै सबैले फेवाताल मात्र सम्झन्छन्, त्यसकारण बेगनासताल र लेखनाथवासी ओझेलमा परेका छन्’ भन्दै एनबीएमले गुनासो पोखे ।
त्यस्तै, पोखरा महानगरपालिका वडा नम्बर ३३ अन्तर्गतको जमुना बोट सिँगरेबास प्युरी दोबान सडक खण्ड करिब ४ किलोमिटर बाटो अहिलेसम्म पनि पिच हुन नसकेको हरि पौडेलले बताएका छन् ।
सांसद पौडेललाई सुझाइएका मागमा महानगरमा हराएको १४ करोडको खोजी, वडा १६ मा पर्ने पहाडी लोकमार्गले दिएको तनाव, सेतीखोला हाइड्रोपावरको छानबीन, विद्यालयले वर्षेनी लिने भर्ना शूल्क, फोहोर व्यवस्थापन, आवश्यक मल, बिउँबिजन र सिँचाईको प्रबन्धलगायत रहेका छन् ।
यस विषयमा सांसद पौडेलले जिल्लावासीले उठान गरेका मागलाई वर्गीकरण गरी स्थानीय, प्रदेश वा संघ सरकारमार्फत यथाशीघ्र सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।
‘प्रत्यक्षरुपमा प्रभावित र सरोकारवाला मानिने स्थानीयवासीले दिएको सुझाव र मागलाई प्राथमिकता दिई नतीजामुखी काम गर्नेछु’ पौडेल भन्छन् ‘सुझावसहित निरन्तर खबरदारी गरिरहनुहोला ।’







