पोखराको शान्ति निकेतन स्कूलमा कक्षा ११–१२ सुरु, प्रतिभा माविसँग सहकार्य

पोखरा । पोखरा महानगरपालिका–५ स्थित शान्ति निकेतन स्कूलले आगामी शैक्षिक सत्रदेखि नयाँ अत्याधुनिक भवनबाट कक्षा ११ र १२ सञ्चालनमा ल्याउने भएको छ । विद्यालयले पत्रकार सम्मेलनमार्फत नयाँ व्यवस्थापन, भौतिक पूर्वाधार र भावी योजनाबारे जानकारी गराएको हो ।

विद्यालयका संस्थापक एवं प्राचार्य डा.महेश्वर पराजुलीका अनुसार पोखराकै अर्को प्रतिष्ठित विद्यालय प्रतिभा माविसँग शैक्षिक तथा व्यवस्थापकीय सहकार्य गर्ने निर्णय गरिएको छ । सहकार्यअन्तर्गत शिक्षक अनुभव आदानप्रदान, शैक्षिक गुणस्तर अभिवृद्धि तथा व्यवस्थापनमा सहकार्य गरिनेछ भने दुवै विद्यालय आफ्नै संरचना र मोडालिटीमा सञ्चालन हुने जनाइएको छ ।

करिब १५ करोड रुपैयाँ लागतमा निर्माण गरिएको सुविधासम्पन्न भवनमा स्मार्ट कक्षाकोठा, अत्याधुनिक आइसीटी ल्याब, साइन्स ल्याब, डिजिटल लाइब्रेरी, ३०० क्षमताको श्रव्य–दृश्य हल, अण्डरग्राउण्ड पार्किङ, बास्केटबल कोर्ट, फुटसल तथा क्रिकेट अभ्यास स्थल लगायतका सुविधा समावेश गरिएको छ । विद्यालयले अपाङ्गता मैत्री संरचना, लिफ्ट सुविधा र स्वच्छ क्यान्टीनसमेत व्यवस्था गरेको जनाएको छ ।

विद्यालयले परम्परागत शिक्षण पद्धतिभन्दा फरक अनुसन्धानमूलक तथा प्रविधिमैत्री शिक्षामा जोड दिँदै संस्कृत र चिनियाँ भाषासमेत पढाइने जनाएको छ । साथै खेलकुद, नृत्य, कला, संगीत, नाटक, योगा र नेतृत्व विकासका कार्यक्रममार्फत विद्यार्थीको सर्वाङ्गीण विकासमा ध्यान केन्द्रित गरिनेछ ।

२०६२ सालमा स्थापना भएको शान्ति निकेतन स्कूलले एसइईलगायत विभिन्न परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै आएको दाबी गरेको छ। आगामी दिनमा प्राविधिक धारतर्फ स्नातक तहसम्मका कार्यक्रम सञ्चालन गर्ने र अन्तर्राष्ट्रिय शैक्षिक संस्थासँग सहकार्य गर्ने योजना समेत विद्यालयले अघि सारेको छ।

Exit mobile version