पोखरा खबरः ट्याक्सीमा छुटेको सुनका गहना र डलरसहितको झोला धनीलाई फिर्ता

नयाँ बजारबाट पुरानो एयरपोर्ट जाँदै गरेको ट्याक्सीमा छुटेको सुनका गहना, डलर र नगदसहितको झोला फेला पारी चालकले प्रहरीमार्फत सम्बन्धित धनीलाई फिर्ता गरेका छन् ।

चैत १ गते दिपक खत्रीले चलाएको ग १ ज ३५९६ नम्बरको भाडा ट्याक्सीमा यात्री गिता श्रेष्ठको लेडिज ब्याग छुटेको थियो ।

झोला फेला पारेपछि चालक खत्रीले प्रहरीलाई बुझाएका थिए । उक्त ब्यागमा सुनको चुरा, सिक्री, बेरुवा औँठी, मंगलसुत्र, कानमा लगाउने टप र लकेट रहेका थिए ।

यसका साथै झोलामा नेपाली १२ हजार रुपैयाँ, ९०० युएस डलर, एक थान मोबाइल, दुई थान पासपोर्ट, औषधि र अन्य खुद्रा सामान रहेको प्रहरीले जनाएको छ ।

चालकले बुझाएको उक्त सामान आज कार्यालय प्रमुख सुजित कुमार देवकोटाले धनी गिता श्रेष्ठलाई जिम्मा लगाएका छन् । हराएको सामानसहितको ब्याग सुरक्षित रूपमा पाएपछि श्रेष्ठले प्रहरी र चालकलाई धन्यवाद दिएकी छिन् ।


Scroll to Top