२२ करोड जरिवानासहित ६ वर्ष कैद तोकिएका योगेन्द्र पक्राउ

बैंकिङ कसुर मुद्दामा ६ वर्ष कैद र २२ करोड रुपैयाँभन्दा बढी जरिवाना ठहर भएका फरार प्रतिवादी योगेन्द्रप्रसाद श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल शेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले काठमाडौँको सीतापाइलाबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२४ वटु घर भई हाल नागार्जुन नगरपालिका–५ सीतापाइला बस्ने ६९ वर्षीय श्रेष्ठ रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले जानकारी दिए ।

प्रवक्ता काफ्लेका अनुसार श्रेष्ठले नेपाल शेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडमा रहँदा अनियमित एवं गैरकानुनी तवरले निक्षेपकर्ता र संस्थाको हित विपरीत बैंकिङ कसुर गरेका थिए ।

‘केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटबाट खटिएको प्रहरीले उनलाई काठमाडौँको सीतापाइलाबाट पक्राउ गरेको हो,’ प्रवक्ता काफ्लेले भने ।

श्रेष्ठलाई सर्वोच्च अदालतको २०८१ भदौ ५ गतेको फैसलाले दुईवटा मुद्दामा सजाय सुनाएको थियो ।

उनलाई एउटा मुद्दामा १९ करोड ४६ लाख १ हजार ६६२ दशमलव ३९ पैसा जरिवाना र तीन वर्ष कैद तथा अर्को मुद्दामा ३ करोड २१ लाख ३९ हजार ६८१ दशमलव ५१ पैसा जरिवाना र तीन वर्ष कैद सजाय ठहर भएको प्रहरीले जनाएको छ ।

Scroll to Top