शम्भु श्रेष्ठ,तनहुँ । स्वर्णिम वाग्ले तनहुँ निर्वाचन क्षेत्र नं.१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि उनको निर्वाचन खर्च विवरण सार्वजनिक गरिएको छ ।
वाग्लेको तर्फबाट निर्वाचन प्रतिनिधि पदमराज न्यौपानेले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत भएको चुनावको खर्च विवरण निर्वाचन आयोगले तोकेको समयभित्र जिल्ला निर्वाचन कार्यालय तनहुँमा पेश गरेका हुन् ।
बुझाइएको विवरण अनुसार निर्वाचन अवधिभर विभिन्न शीर्षकमा गरी कुल २६ लाख ९० हजार ७५४ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ ।
खर्च विवरणमा मनोनयन दर्ता शुल्क १० हजार रुपैयाँ, मतदाता नामावली खरिदमा ३ हजार रुपैयाँ तथा प्रचार–प्रसार सामग्री खरिद र प्रिन्टमा ६ लाख ५० हजार २९८ रुपैयाँ खर्च भएको देखाइएको छ ।
त्यसैगरी विद्युतीय प्रचार–प्रसारमा ३ लाख ४८ हजार ४६४ रुपैयाँ, कार्यालय सञ्चालन खर्च (४२ वडा) ४ लाख २० हजार रुपैयाँ र मतदान केन्द्रमा बुथ प्रतिनिधि परिचालनका लागि (६९ मतदान केन्द्र) ३ लाख १९ हजार ३०० रुपैयाँ खर्च गरिएको विवरणमा उल्लेख छ ।
सवारी साधन तथा इन्धनमा (१५ दिन) ४ लाख ५० हजार रुपैयाँ, खाना, खाजा तथा अस्थायी बसोबासमा ३ लाख ४८ हजार ९०० रुपैयाँ र विविध शीर्षकमा १ लाख ४० हजार ७९२ रुपैयाँ खर्च भएको विवरणमा जनाइएको छ ।
निर्वाचन प्रतिनिधि न्यौपानेले उक्त खर्च विवरणमा हस्ताक्षर गरी जिल्ला निर्वाचन कार्यालय तनहुँमा औपचारिक रूपमा बुझाएका हुन् ।
