पश्चिम एसिया संकटको असरः दुबईबाट २७२ नेपालीको उद्धार, आज पनि विशेष उडान

काठमाडौं । पश्चिम एसियामा बढेको तनावका कारण विभिन्न देशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन सरकारले उद्धार उडानलाई निरन्तरता दिएको छ । सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले विशेष उडानमार्फत नेपालीहरूलाई क्रमशः स्वदेश ल्याइरहेको छ ।

निगमका प्रवक्ता देवेन्द्र पुनका अनुसार बिहीबार सञ्चालन गरिएको विशेष उद्धार उडानमार्फत दुबई विमानस्थलमा अलपत्र परेका २७२ जना नेपालीलाई स्वदेश ल्याइएको हो ।

सोही विमानमार्फत त्रिभुवन विमान स्थलमा रहेका २६० जना यात्रुलाई दुबई पुर्‍याइएको पनि उनले जानकारी दिए ।

आज पनि निगमको विमान २६७ जना यात्रु लिएर दुबई प्रस्थान गर्नेछ भने त्यहाँबाट १६४ जना नेपालीलाई स्वदेश ल्याइने तयारी गरिएको छ ।

गत फागुन १६ गतेदेखि पश्चिम एसियाको आकाशमा उडान निषेध भएपछि उद्धार उडान सुरु गरिएको हो । अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमा हवाई आक्रमण गरेपछि क्षेत्रीय तनाव बढ्दै जाँदा पश्चिम एसियाली मुलुकहरूमा अन्तर्राष्ट्रिय उडान प्रभावित बनेको छ ।

Exit mobile version