काठमाडौं । एन्फा राष्ट्रिय लिग फुटबल आइतबारबाट पुनः सुरु भएको छ । सम्पन्न प्रतिनिधिसभा निर्वाचनका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) ले जारी राष्ट्रिय लिग फुटबल प्रतियोगिता स्थगित गरेको थियो । गत फागुन १८ गतेबाट रोकिएको उक्त लिग आजबाट पुनः सुरु भएको हो ।
प्रतियोगीतामा आइतबार तीनवटा खेलहरु हुँदैछन् । आज बिहान ११ बजेबाट सुरु भएको पहिलो खेलमा जवलाखेल युथ क्लब र मछिन्द्र फुटबल क्लब प्रतिस्पर्धा गरिरहेका छन् ।
त्यस्तै, आज हुने दोस्रो खेलमा संकटा एफसी र लालीगुँरास एसोसिएसन खेल्नेछन् भने अन्तिम खेलमा चर्च ब्याइज युनाईटेड र सातोबाटो युथ क्लबबीच भिडन्त हुनेछ। यी तीनै खेल दशरथ रगंशालमा हुनेछ ।
जारी लिगमा देशका कुल १७ वटा टोलीहरूले प्रतिस्पर्धा गरिरहेका छन्। जहाँ ६८ वटा खेलहरू सम्पन्न भइसकेका छन् ।
